– अर्जुन तिमिल्सिना

काठमाण्डौ । साताको पहिलो दिन आइतबार सधैँझैँ हामी बजारमा लगानीकर्ताको विचार बुझ्न विभिन्न ब्रोकर हाउस पुग्यौँ। 

सुरुमा बिहान ११ बज्दा नबज्दै स्टक ब्रोकर नं. ५६ शिवहरि सेक्युरिटिज कमलादी पुग्यौँ। त्यहाँ डिसप्ले नखुले पनि लगानीकर्ताहरु जम्मा भएका थिए। उनीहरु चिया पिउँदै सेयर बजारकै गफमा मस्त थिए। 

गत शुक्रबार बाँडफाँड भएको चन्द्रागिरी हिल्सको आईपीओमा एकजनाले परिवारका चारजनाका हाल्दा पनि कसैलाई नपरेको गुनासो पोख्दै थिए। ‘मलाई त चन्द्रागिरीले नआइज भन्यो’, उनले ठट्यौली पारामा भनिहाले। 

त्यहीँ बसेका अर्का लगानीकर्तालाई भने भाग्यले साथ दिएछ। ‘मैले ६ जनाको नाममा हालेको थिएँ, बल्लबल्ल एकजना पर्यो’, उनले भने।

गत शुक्रबार धितोपत्र कारोबारीको अनुमति पाएको नागरिक स्टक डिलरका बारेमा टिप्पणी गर्दै एक लगानीकर्ताले भने, ‘सीआईटीले पनि तहल्का पिट्ने भयो अब।’

त्यसपछि हामी कमलादीमै रहेको स्टक ब्रोकर नं. १० प्रज्ञान सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताहरुमा चन्द्रगिरीकै आईपीयोको चर्चा चलिरहेको रहेछ। कोही मोबाइलमा त कोही ल्यापटपमा आजको बजार हेर्दै मस्त थिए। कसैले विनोद चौधरीले एनसीसीको सेयर किन्यो रे भन्दै थिए त कसैले अब २० अर्ब बैंकको पुँजी पनि कम भएकोले हिमालयन बैंक र इन्भेस्टमेन्ट बैंक पनि मर्जमा जान बाध्य हुने बताउँदै थिए। 

त्यतिबेला बजारको कारोबार मध्यान्तरतिर पुगेको थियो। कारोबार हेर्दै एक लगानीकर्ताले भने, ‘आज त कारोबारले रेकर्ड नै ब्रेक गर्छ कि कसो ?’

सँगै बसेका अर्का एकजनाले टाउको हल्लाउँदै हुन सक्ने संकेत गरे। 

त्यहाँबाट हामी कमलपोखरीस्थित स्टक ब्रोकर नं. ४४ डाइनमिक मनी मेनजर्स सेक्युरिटिज पुग्यौँ। त्यहाँ उपस्थित लगानीकर्ताहरु भने बैंकको सेयरमूल्य नबढेकोमा गुनासो गर्दै थिए। केहीले अब ग्लोबल आईएमई बैंक सेयरमूल्य राम्रै हुने ठोकुवा गर्दैगर्दा एक लगानीकर्ताले भने, ‘मसँग त कुनै पनि बैंकको सेयर नै छैन।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब बैंकको पालो त आउँछ–आउँछ सेक्टरवाइज। सेयर बजार अझै ३ महिना माथि नै जाने हो।’

तिनै लगानीकर्ताले राजनीतिलाई पनि जाड्दै जिज्ञासा राखिहाले, ‘देशमा संकटकाल लागे के होला ?’

अर्कोले भने, ‘राजनीतिक अस्थिरता भए त झनै राम्रो। विगतमा पनि राजनीतिक अस्थिरता हुँदा बजार बढेकै हो।’

त्यसैमा अर्कोले भारतको सेयर बजारतिर जोड्दै भने, ‘उता त धेरै राम्र्रै भएको छ।’

त्यत्तिकैमा एक लगानीकर्ताले जबाफ फर्काए, ‘उताको त बेस नै राम्रो छ नि।’

यसबीच हामी कमलादीस्थित स्टक ब्रोकर नं. ३५ कोहिनुर इन्भेस्टमेन्ट सेक्युरिटिजमा पनि छिर्यौँ। त्यहाँ पनि लगानीकर्ताको भीडभाड नै देखिन्थ्यो। केही नयाँ र महिला लगानीकर्ता पनि देखिए। त्यहाँ उपस्थित एक महिला लगानीकर्ताले मोबाइल देखाउँदै भनिन्, ‘के किन्दा हुन्छ होला ?’

पुराना अनुभवी जस्ता देखिने एक पुरुष लगानीकर्ताले जबाफ दिए, ‘बैंकको किन्नुस्, सुरक्षित पनि अनि अहिले खासै मूल्य बढेको पनि छैन। त्यसैले अब पालो बैंककै हो।’

पुनः ती महिला लगानीकर्ताले सोधिन्, ‘के आधारमा सेयर किन्ने हो ?’

अनि ती पुरुष लगानीकर्ताले भने, ‘बैंकको ईपीएस र प्राइस अर्निङ रेसियो हेर्ने हो नि।’

पुतलीसडकस्थित स्वेता सेक्युरिटिज स्टक ब्रोकर नं. २५ मा पनि लगानीकर्ताहरुको बाक्लै उपस्थित थियो। त्यहाँ त एकजनाले भीड नियन्त्रण गर्दै चिच्याए, ‘भीडभाड नगर्नुस्, के काम थियो ?’

त्यत्तिकैमा हामीले आफ्नो परिचयपत्र देखाएपछि ती व्यक्तिले भने, ‘ओहो यस्ता बेला भीड नियन्त्रण गर्न तपाइँहरुले समाचार लेखेर सचेत गराउनुपर्यो।’

त्यहाँबाट हामी सिंहदरबार मोडमा रहेको स्टक ब्रोकर नं. ३२ प्रिमियर सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता घाम ताप्दै मज्जाले गफिँदै थिए। त्यहाँ एक लगानीकर्ताले ‘होइन यो शिवम् कहिले बढ्छ ?’ भनेर अरुलाई सोध्दै थिए। छेऊमै रहेका अर्का एक लगानीकर्ताले भने, ‘यो ग्लोबल बैंक पनि ढिकी नै भयो !’ 

(प्रिय पाठक ! ‘ग्राउण्ड जीरो’ स्तम्भ हामीले केही समयअघिदेखि सुरु गरेको बिल्कुलै फरक खालको स्तम्भ हो। यो स्तम्भ आइतबार साँझ प्रकाशित हुन्छ। यो स्तम्भका पात्र तथा विषय ब्रोकर कार्यालयहरुका दृश्य तथा कुराकानीमा आधारित हुन्छन्। ब्रोकर कार्यालयमा हाम्रा संवाददाता जाँदा जे सुने, देखे त्यो कुरा भरसक जस्ताको तस्तै यहाँ उल्लेख गर्ने गरिन्छ। ब्रोकर कार्यालयमा भेटिएका लगानीकर्ताबीच हुने कुराकानी कुनै भरपर्दा पनि हुन सक्लान्, कुनै आधारहीन पनि। यो स्तम्भको उद्देश्य ब्रोकर कार्यालयमा भेटिने लगानीकर्ताहरुको बजारप्रतिको धारणा बुझ्नु् हो। बजारको पछिल्लो प्रवृतिको विषयमा यो स्तम्भले ब्रोकर कार्यालयसम्म पुग्न नसक्नेलाई केही न केही भए पनि जानकारी दिन्छ भन्ने हाम्रो विश्वास हो। यो स्तम्भका लागि विभिन्न ब्रोकर कार्यालयमा जाँदा हाम्रा संवाददाताले परिचय लुकाउने गर्छन्, जसका कारण लगानीकर्ताबीच जे जे चर्चा हुन्छ वा भइरहेको हुन्छ, त्यो जस्ताको तस्तै यहाँ प्रस्तुत गरिन्छ। यो स्तम्भमा समेटिएका लगानीकर्ताबीच चलिरहेका कुराहरुलाई आधार मानेर लगानीको निर्णय चाहिँ लिनुहुन्न। )