– अर्जुन तिमिल्सिना

काठमाण्डौ। डिस्प्ले नखुले पनि निफ्राको आईपीओले गर्दा मर्चेन्ट बैंकहरुमा जस्तै आज आइतबार ब्रोकर हाउसमा पनि निक्कै भीडभाड थियो। 

सधैँजसो साताको पहिलो दिन हामी काठमाण्डौको न्युप्लाजास्थित एसियन सेक्युरिटिज् पुग्यौँ। बिहान ११ बज्दा नबज्दै त्यहाँ लगानीकर्ता खचाखच थिए। कोही हातमा  फाराम लिएर यताउता गर्दै थिए त कोही आफ्नो मोबाइलमा सेयर बजारको अपडेट हेर्दै थिए। त्यतिकैमा एक लगानीकर्ताले भने, ‘यसपालि डीडीबीएल (डिप्रोक्स लघुवित्त) ले हावा खुवाउँछ कि क्या हो ?’

ती लगानीकर्ताको प्रश्न चुहिन नपाउँदै अर्का लगानिकर्ताले बोलिहाले, ‘यो हप्ता टेक्निकलले के भन्छ ?’

जबाफमा फेरि ती लगानीकर्ताले भने, ‘बजार त अपट्रेन्ड नै हो नि। विष्णुप्रसाद बस्यालले त बजार माथि नै जाने हो भनेका छन् क्यारे।’

त्यसै सिलसिलामा फेरि अर्का एक लगानीकर्ताले प्रफुल्ल मुद्रामा मोबाइलमा जग्गाको लालपुर्जा देखाउँदै भने, ‘मैले त यो बुलमा कलंकीमा एउटा घडेरी नै किनेँ र अझै बजार बढ्यो भने त अब अर्को पनि घडेरी किन्ने सोचमा छु।’ 

त्यसपछि हामी शंकरदेवस्थित ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटिज् पुग्यौँ। त्यहाँ पनि डिम्याट खाता खाल्ने र सेयर किनबेच गर्नेको बाक्लै भीड थियो। कसैको हातमा डिम्याट भर्ने फाराम थियो भने कसैले मोबाइलमा बजार हेर्दै थिए। त्यहीबेला एकजनाले एचआईडीसीएलको सेयरले सर्किट हानेको र आफूसँग ४० हजारभन्दा बढी कित्ता सेयर रहेको खुलाए। ‘ अनि राइट भर्दा लाखौँ कित्ता हुन्छ, अब ४० करोड रुपैयाँमा त जबो हेलिकोप्टर नै आउँछ नि’, ठट्यौली पारामा ती लगानीकर्ताले भने, ‘यो कम्पनीको सेयरले मैले हेलिकोप्टरसम्म किन्न पो सक्छु कि ?’

त्यहीँ नजिकै उभिएका अर्का लगानीकर्ताले व्यंग्य गर्दै भनिहाले, ‘पाइलट मलाई राख्नु है साथी।’

‘कार चलाउनभन्दा त हेलिकोप्टर नै उडान सजिलो छ नि ! हावामा कतै लड्ने होइन, म आफैँ चलाउँछु। आकाशमा ठोक्किएला भन्ने डर पनि भएन, जाममा पनि पर्ने होइन’, व्यंग्यप्रति उत्तर दिँदै ती लगानीकर्ता भने, ‘अनि अरुलाई पाइलट किन राख्ने ?’

फेरि अर्का लगानीकर्ताले सोधिहाले, ‘हेलिकप्टरको पंखा कि हेलिकोप्टर नै हो ? पंखा बढी महँगो हुन्छ नि ?’

अनि हेलिकोप्टर किन्ने सपना बोकेका ती लगानीकर्ताले भने, ‘मनमा चाह र गरे के असम्भव छ र सर ? तपाइँ जग्गा डाँडामा किन्नु, मलाई हेलिकोप्टर राख्न सजिलो हुन्छ।’

लगानीकर्ताबीच हस्यौली पारामा मजाकजस्तै गफ भइरहेको बेला अर्का लगानीकर्ताले थपे, ‘बजारको अहिलेको माहोल हेर्दा त ६ हजार नै पुग्छ कि के हो ? बजारको लक्षण त त्यस्तै छ। तर यो सोल्टी भन्ने चाहिँ किन नबढेको हो ?’

त्यसैमा अर्कोले भने, ‘शिवमको त ७० रुपैयाँ ईपीएस आउने चर्चा छ, अबको एचडीएल यही हो कि के हो ?’

फेरि अर्का लगानीकर्ता बोलिहाले, ‘कुमारी बरु बढ्न थाल्यो। निफ्राको आईपीओलाई जोडेर उनले फेरि थपे, ‘अब नयाँ आईपीओ आए त एक खर्बको पनि बजारले पचाउँछ। सय कित्ता सबैले भर्छन्, १५ लाख डिम्याट खोल्ने पुगे भने डेढ खर्बकै आईपीओ पनि बिक्छ।’