– अर्जुन तिमिल्सिना

काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार पनि हामीले आफ्नो ‘ग्राउन्ड जिरो’ स्तम्भलाई निरन्तरता दिन राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताहरुमा हुने भलाकुसारी बुझ्ने प्रयास गरेका छौँ। 

यही क्रममा बिहान ११ बज्दै गर्दा राजधानीको कालिकास्थानस्थित नेपाल स्टक हाउस ब्रोकर नं. १४ मा पुग्दा लगानीकार्ताको राम्रै उपस्थिति भइसकेको थियो। केही लगानीकर्ता मोबाइलमै त केही डिस्प्लेमा बजार हेर्दै थिए। त्यत्तिकैमा एक लगानीकर्ताले सोधे, ‘यो एनआरआईसी के हुन्छ ? मैले त १६०० तिर किनेको थिएँ।’

सँगै बसेका अर्का लगानीकर्ताले जबाफ फर्काए, ‘बोनस र हकप्रद आउने भए बढ्छ, होइन भने त मूल्य यस्तै हो।’

उनीहरुसँगै बसेकी एक महिला लगानीकर्ताले भनिन्, ‘भदौतिर आउने चर्चा छ, जे आए पनि।’

त्यहीँ रहेका अन्य लगानीकर्ताहरु भने सिटिजन्स बैंकको के होला भनेर कुराकानी गर्दै थिए। त्यहीँ फेरि सानिमा बैंक, प्रभु बैंक, कृषि विकास बैंक, ज्योति विकास बैंक ५०० माथि पुग्छ भन्ने चर्चा पनि चलिरहेको थियो। 

एकजना लगानीकर्ता भने आफ्नो टीएमएस सिस्टममा प्यान नम्बर देखिएन भन्दै सोधीखोजी गर्दै थिए। त्यत्तिकैमा एकजना ढाका टोपी लगाएका लगानीकर्ता नमस्कार गर्दै भित्र पसेर भने, ‘प्रि–ओपनमा जुन कम्पनी १० कित्ताले तलमाथि गर्छ, त्यसैमा लाग्नुपर्छ हामी पनि।’

डिस्प्लेतिर हेर्दै सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो एनआईसी एसिया लघुवित्तको मूल्य त पुग्यो है अब त !’

ढाका टोपी लगाएका लगानीकर्ताले भने, ‘मैले त बेचेँ, जति नाफा आयो त्यति नै आफ्नो।’

आढैमा बसेकी महिला लगनीकर्ताले सोधिन्, ‘अब बजार के होला ?’

उनीसँगै बसेका एक पुरुष लगानीकर्ताले भने, ‘अब लगानीकर्ता सिफ्ट होलान् जस्तो छ, बैंक, हाइड्रो र इन्स्योरेन्समा।’

त्यहीँ यताउता गरिरहेकी अर्की एक महिला लगानीकर्ताले सोधिन्, ‘यो बजारमा गर्ने खास के हो ?’

ठट्यौली पारामा अर्का एक पुरुष लगानीकर्ताले भने, ‘घटेमा किन्ने, बढेमा बेच्ने।’

फेरि ती महिला लगानीकर्ताले भनिन्, ‘यो त भन्नमात्रै सजिलो रहेछ।’

अलि पर बसेका लगानीकर्ताले भने ‘एभरेस्ट बैंकको रिपोर्ट राम्रा आउने हल्ला छ’ भन्दै हल्लीखल्ली गर्दै थिए। 

ती लगानीकर्तालाई जबाफ दिँदै अर्काले भने, ‘बैंकको नाफा जति उपल्लो तहका कर्मचारीले खान्छन्।’

त्यत्तिकैमा अर्का लगानीकर्ताले सोधे, ‘अब बजार के हाला ?’

जबाफमा सँगै बसेका टाठा लगानीकर्ताले भने, ‘पोहोरजस्तै कोभिडले साथ दिए बजार माथि नै जानेछ। तर, बजार अब पहिलेजस्तो घट्दैन।’

त्यही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने, ‘हिमाल दोलखा हाइड्रो कस्तो हो ?’ 

जबाफ आयो, ‘१० करोडमा बनेको राम्रै हो।’

फेरि अर्का लगानीकर्ताले भने, ‘लघुवित्तको सेयर नै हो, सजिलै खेल्नलाई।’

केहीबेरको बसाइपछि हामी न्युप्लाजास्थित क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज स्टक ब्रोकर नं. २९ पुग्यौँ। त्यहाँ भित्र केही नयाँ लगानीकर्तामात्रै थिए भने केही लगानीकर्ता भैरहवामा ब्रोकर हाउस नभएको भन्दै फाराम भर्दै थिए। 

पुराना र अनुभवी लगानीकर्ता भने ब्रोकर हाउसकै सामुन्ने रहेको चिया पसलमा चियाको चुस्कीसँगै सेयरको गफमा मस्त थिए। त्यही चिया पसलमा गफिँदै गरेका एक पुराना लगानीकर्ताले अरुलाई सल्लाह दिँदै भने, ‘सबै पैसा एउटै स्क्रिप्टमा लगानी नगर्नु है, बजार हो, जे पनि हुन सक्छ।’

ती लगानीकर्ताले फेरि थपे, ‘मेरो एउटा साथीले ४०० तल नेपाल रिइन्स्योरेन्सको सेयर १ लाख ५० हजार कित्ता किनेको थियो, सबै १५०० माथि बेचेर अहिले त बजार नै आउन छोड्यो। थाहा त हामीले नि पाएको हो, आँट गरिएन के गर्ने ?’

केहीबेरको बसाइपछि हामी न्युप्लाजामै रहेको स्टक ब्रोकर नं. २६ एसियन सेक्युरिटिज पुग्यौँ। त्यहाँ लगानीकर्ताहरु कारोबारमै व्यस्त थिए। एक लगानीकर्ताले भने, ‘आज त बजार घटेरे बन्द होलाजस्तो छ, आज घट्यो भने त केही दिन घट्ने नै हो।’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यी ‘टी.ए.’ पनि खासै जान्ने होइनन् अनुभवका आधारमा अनुमान गर्ने त रहेछन् नि।’

सोही ब्रोकर हाउसमा एक लगानीकर्ता भने ‘रुरु हाइड्रोपावर  ठिकै छ’ भन्दै थिए। 

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘लघुवित्तमा एनआईसी एसिया लघुवित्त नै हो, विकास  बैंकमा मुक्तिनाथ र गरिमा हुन्, घटे पनि धेरै घट्ने होइन।’

त्यहाँबाट हामी सिंहदरबार मोडस्थित प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नं. ३२ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताहरु खचाखच थिए र लघुवित्तकै चर्चा थियो। 

त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो एनआईसी एसिया लघुवित्तको आम्दानी त राम्रो छ, प्रतिसेयर आम्दानी नै १०० माथि आउँछ, मूल्य त सजिलै २५०० माथि नै पुग्ने हो। बरु चिन्ता उन्नतिको छ, के होला भनेर ?’

यो बेलासम्म दिउँसोको २ बज्दै थियो। बजार घटिरहेको थियो। केही महिला लगानीकर्ता पछाडिको सिटमा बसेर  मोबाइलमै सेयर बजार हेरेर गफमा मस्त थिए। 

त्यत्तिकैमा एक महिला लगानीकर्ताले मोबाइलमा देखाउँदै भनिन्, ‘मैले त स्वाबलम्बन १२८० तिर किनेको नाफै छ।’ 

अगाडिको सिटबाट बजार घटेर केही निराशजस्तो देखिएकी एक महिला लगानीकर्तालाई जिस्काउँदै एक पुरुष लगानीकर्ताले भने, ‘किन निराश हो, बजार घटेर त होइन ?’

जबाफ आयो, ‘हामीलाई त्यस्तो केही चिन्ता छैन।’