– अर्जुन तिमिल्सिना

काठमाण्डौ। कोरोना महामारी बढ्दो छ। आज सेयर बजारमा पनि कोरोना प्रभाव परेजस्तो देखियो। 

यो साताको पहिलो कारोबार दिन पनि हामीले आफ्नो नियमित स्तम्भ ‘ग्राउन्ड जिरो’ का विभिन्न ब्रोकर हाउसमा पुग्यो। यसै सिलसिलामा हामी आज बिहान ११ बज्दा नबज्दै राजधानीको नक्सालस्थित थ्राइभ ब्रोकर हाउस स्टक ब्रोकर नम्बर १३ मा पुगेका थियौँ। त्यहाँ लगानीकर्ताको राम्रै उपस्थिति थियो।  एक लगानीकर्ता हतार–हतार ब्रोकर हाउर छिर्दै भने, ‘एचआईडीसीएल बेच्नुपर्ने घटिहालेछ।’

ती लगानीकर्ता अर्डर राख्न ब्रोकर आादेश दिँदै थिए। आडैमा बसेका अर्का लगानीर्ताले भने, ‘आज बजार घट्छ जस्तो छ।’
केहीबेरमा ढाकाटोपी लगाएका एक लगानीकर्ता नमस्कार भन्दै भित्र पसे। नजिकै बसेका लगानीर्ताले सोधे, ‘ज्योति लाइफ बेच्नुभयो ?’
ती लगानीकर्ताले भने, ‘बेचिनँ मैले त, कति त घट्ला र ?’ 

यति बेलासम्म बिहानको साढे ११ बजिसकेको थियो। बजार झन्डै ३० अंकको गिरावट आइसको थियो। 

एक महिला लगानीकर्ताले भनिन्, ‘बेच्ने भन्दाभन्दै केही बेचेको छैन, होइन बजार तलै आउँछ कि जस्तो पो छ।’

एक पुरुष लगानीकर्ता भने भन्दै थिए, ‘मौका यही नै हो भन्दै फोनमा पैसाको व्यवस्था गर्दै थिए।’

ब्रोकर हाउसको पछाडिको सिटमा बसेर केही लगानीकर्ताले भने मोबाइलमा बजार हेर्दै सोध्दै थिए, ‘बजार कति घट्यो ?’ 

अगाडिको सिटमा बसेका अर्का एक लगानीकर्ता भन्दै थिए, ‘४५ अंक गयो।’

यो बेलासम्म बिहानको पहुने ११ बज्दै थियो। बजार निरन्तर घटेको थियो। ब्रोकर हाउसमा सन्नटा छाएको थियो। 

यत्तिकैमा एक लगनीकर्ताले भने, ‘यस्तो अवस्थामा पनि प्रभु बैंक घट्न सकेको छैन।’

केहीबेरको बसाइपछि हामी नक्सालकै ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ लगानीकर्तालाई प्रवेशको सहज अनुमति थिएन। केही साना लागानीकर्ता गेटमै २ हप्तादेखि निफ्राको सेयर बेचेको पैसा नआएको गुनासो गर्दै बसेका थिए। 

बाहिर बसेका एक लगानीकर्ताले आक्रोशित हुँदै भने, ‘न फोन उठ्छ न किनेको सेयर खातामा आउँछ ? न हामीलाई ब्रोकर हाउसमा पस्नै दिइन्छ। यस्तो दादागिरी पनि ब्रोकरहरुको हुन्छ ?’

ब्रोकर हाउसमा छिर्ने लगानीकर्ताहरु भने धमाधम लघुवित्त र जलविद्युतको सेयर कारोबार गरेका थिए। 

त्यहाँबाट हामी नक्सालमै रहेको सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ पुगेका थियौँ। त्यहाँ पनि लगानीकर्ताको राम्रै उपस्थिति थियो। एक महिला लगनीकर्ताले भन्दै थिइन्, अरुलाई बेच्नुस् भनेर सल्लाह दिएँ, आफैँले बेच्न सकिएन।’

त्यत्तिकैमा एक लगानीकर्ताले भन्दै थिए, ‘यो एचआईडीसीएल अझै कति बढ्ने हो, मैले त बेचेँ।’

यो बेलासम्म दिनको १ बज्दै थियो। बजार झन्डै ७० अंकले घटिसकेको थियो। 

त्यहाँबाट हामी डिल्लीबजारस्थित श्रीकृष्ण सेक्युरिटिज स्टक ब्रोकर नम्बर २८ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको राम्रै उपस्थिति थियो। एक लगानीकर्ताले भन्दै थिए, ‘आज घटे पनि भोलि त बजार पक्कै फर्किन्छ, यही हो मौका एनआईसी एसिया लघुवित्त, ग्लोबल आईएमईजस्ता कम्पनी किन्ने।’

ती लगानीकर्ता भन्दै थिए, ‘किन्ने रातोमा, बेच्ने हरियोमा। हरियोमा किनियो भने त  परियो नि फेरि।’