– अर्जुन तिमिल्सिना

काठमाण्डौ । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञाका कारणले ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति नहुँदा हामीले पनि हाम्रो सेसन ‘ग्राउन्ड जिरो’ स्थगित गरी सामाजिक सञ्जालमार्फत लगानीकर्ताका विचार लिँदै आएका थियौँ। निषेधाज्ञा खुकुलो हुँदै जाँदा लामो समयपछि आज हामीले फेरि ब्रोकर हाउसमै पुगेर लागानीकर्ताका विचार तथा विश्लेषण सुन्ने र आमलागनीकर्तामाझ पुर्याउने कोसिस गरेका छौँ। 

यसै सिलसिलामा आज बिहान ११ नबझ्दै हामी पुतलीसडक कमलादीस्थित केही ब्रोकरहाउसमा पुगेका छौँ। सुरुमा एसियन सेक्युरिटिज ब्रोकर नम्बर २६ मा पुग्दा केही पुराना तथा नयाँ लगानीकर्ताको राम्रै उपस्थिति थियो। नयाँ लगानीकर्ता फाराम भर्न तथा डिम्याट अद्यावधिक गर्न तल्लीन थिए भने पुराना लगानीकर्ता बजारको विश्लेषण गर्दै अबको बाटो के होला ? भन्दै थिए। एक पुराना लगानीकर्ताले भने, ‘अहिले बजार सुस्ताउनुका मुख्य दुई कारण छन्। पहिलो– असार मसान्तको प्रभाव। जुन अझै केही दिन देखिन सक्छ। दोस्रो– मौद्रिक नीति।’

ती लगानीकर्ताका अनुसार अहिले धेरैजसो लगानीकर्ता मौद्रिक नीतिको प्रतीक्षामा बसेका छन्। उनले भने, ‘छोटो समयमै पुँजी बजारमा उछाल आएकोले मौद्रिक नीतिमा राष्ट्र बैंकले कसिलो नीति ल्याउन सक्छ। त्यसैले अहिले बजार धेरै नबढेकै राम्रो ।’ 

अहिलेको राजनीतिक परिस्थितिले सेयर बजारलाई ठूलो असर नगर्ने ती लगानीकर्ताको दाबी थियो। ‘किनकि जो सरकारमा आए पनि पुँजी बजारमैत्री नै हुनेछ’, ती लगानीकर्ताले भने, ‘त्यसैले अबको १–२ दिनपछि बजार लयमा फर्किन सक्छ।’ 

त्यहाँ केही समयको बसाइपछि हामी पुतलीसडकस्थित ब्रोकर नम्बर १६ प्राइमो सेक्युरिटिजमा जाँदै थियौँ। ब्रोकर हाउस पस्ने बाटो छेउमै केही युवा–युवती आपसमा सेयर बजारबारे गफ गर्दै थिए। तीमध्ये एक युवकले भने, ‘अहिले सेयर बजारमा लगानी बेला हो।’ 

ती युवासँगै गफिँदै गरेकी एक युवतीले सोधिन्, ‘आफूसँग त पैसो छैन, ब्याजमा लिएर फाइदा हुन्छ त ?’

ती युवाले जबाफ दिए, ‘तरिका जाने हुन्छ नि, धेरै ज्ञान र तरिका चाहिन्छ सेयर बजारमा।’

प्राइमो सेक्युरिटिजभित्र जाँदा भने लगानीकर्ता गफमै मस्त थिए। एक लगानीकर्ताले भने, ‘के किन्ने हो ?’

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘माइक्रो नै हो, थोरै–थोरै मैले त निर्धन उत्थान लिँदैछु।’

उनीसँगै बसेका लगानीकर्ताले टेक्निकल चार्ट देखाउँदै ‘किन्न हुन्छ’ भने। 

त्यहाँबाट हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज स्टक ब्रोकर नम्बर १० पुग्यौँ। त्यहाँ पनि केही लगानीकर्ता सेयर बजारकै विषयमा गफ गरिरहेका भेटिए। एक लगानीकर्ताले भने, ‘अहिले सानिमा हाइड्रोको सेयर किनेको छु, एक वर्ष राखेर आउँदो असारसम्म बेचेर घर बनाउने हो।’

यसैगरी क्लब हाउसमा बोल्दै प्राविधिक विश्लेषक विष्णु बस्यालले हाल बजार साइडवेजमा चलेको तथा अघिल्लो हप्ताको अन्तिम कारोबारले ह्यागिङ म्यान बनाएको बताए। 

क्लब हाउसमै बोल्दै अर्का विश्लेषक हेमन्त बस्यालले नेप्से इन्डेक्समा केही सुधार गर्नुपर्ने बताए। क्लब हाउसमा अधिकांश लगानीकर्ता बजार फेरि बढ्ने विषयमा ढुक्क देखिन्छन्।