– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँझैँ यो साताको पहिलो दिन आइतबार हामी राजधानीका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार सुन्ने तथा बुझ्ने प्रयासलाई निरन्तरता दिएका छौँ। लगातार घटेको बजारमा आज दिनभर रौनक र चमक देखियो। आज धेरैजसो ब्रोकर हाउसमा लगानीकर्ताको उपस्थिति पनि राम्रै थियो। 

ब्रोकर हाउसहरुमा स्वास्थ्य सुरक्षाको मापदण्ड कडाइका साथ पालना गरिएको पाइयो। लगानीकर्ताहरुले पनि सजकताका साथ ब्रोकर हाउसमा उपस्थिति जनाएका थिए। 

बिहान ११ बज्दा नबज्दै हामी कालिकास्थानस्थित नेपाल स्टक हाउस ब्रोकर नम्बर १४ मा पुगेका थियौँ। त्यहाँ हामीले लगानीकर्तासँग मात्रै नभएर ब्रोकर सञ्चालकसँग पनि बजारका बारेमा बुझ्ने प्रयत्न गर्यौँ। ती सञ्चालकले आफ्नो जीवनमा सेयर बजारमा लगानीकर्ताका लागि अहिलेजस्तो स्वर्णिम अवसर कहिल्यै नआएको बताए। ‘निकै छोटो समयमै निकै राम्रो अवसर सेयर बजारले दिएकोले लगानीकर्ताले पनि सोचविचार गरेर राम्रो कम्पनीमा लगानी गर्दा उचित हुन्छ’, उनले सुझाव दिँदै भने, ‘सोचविचार नगरी लगानी गर्दा भोलिका दिनमा कठिन अवस्था आउन सक्छ।’

ब्रोकरको फ्लोर सिटमा भने केही लगानीकर्ता बजार बढे पनि आफ्नो सेयरको भाउ नबढेको भन्दै गुनासो गर्दै थिए। ‘मैले प्रभु बैंक किनेको छु तर सोचेजस्तो बढेन’, एक लगानीले गुनासो गर्दै भने। 

त्यहाँबाट हामी सिंहदरबार मोडस्थित स्टक ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ पनि भित्र छिर्न स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरिएको पाइयो। त्यहाँ केही लगानीकर्ता मोबाइलमै बजारको गतिविधि हेर्दै आपसमा गफ गर्दै थिए। एक लगानीकर्ताले भने,  ‘यो अप्परले बत्ती बाल्यो भन्थे रातो बालेछ कि के हो ? बत्ती बालेपछि त दिनकै झर्या–झर्यै  छ।’

सँगै बसेका अर्का लगानीकर्ताले समर्थन गर्दै भने, ‘पहिले नै मूल्य बढेको थियो, त्यसैले हो।’

केही समयको बसाइपछि त्यहाँबाट हामी पुतलीसडकस्थित स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज पुग्यौँ। त्यहाँ केही लागनीकर्ता कनेक्ट आईपीएसबाट पैसा कसरी तिर्ने भनेर सोधखोज गर्दै थिए। केही भने डिम्याट नवीकरण गर्न व्यस्त थिए। एक महिला कर्मचारीले गुनासो गरिन्, ‘फोन पनि उठाउनुपर्ने अनि अफिसको काम पनि गर्न त गाह्रो पो रहेछ ग्राहकले फोन उठेन भनेर गुनासो गर्छन्।’

ब्रोकर हाउनसम लगानीकर्ताको उपस्थिति खचाखच थियो। यो बेलासम्म दिनको १ बज्दै थियो। बजारमा रौनक आएको थियो। यो बेलासम्म बजार ३० अंकले बढिसकेको थियो। 

केही समयको बसाइपछि हामी पुतलीसडककै स्टक ब्रोकर नम्बर १६ प्राइमो सक्युरिटिज पुग्यौँ। दिनको २ बज्दै थियो। सेयर बजारमा हरियाली छाएको थियो। एक लगानीकर्ताले भने, ‘मैले त बजार ३००० को विन्दु माथि पुगदा धेरै सेयर बेचेर डिम्याट नै खाली गरेको थिएँ, आज एनएमबी माइक्रोफाइनान्स र मुक्तिनाथ विकास बैंकको सेयर किन्दैछु, के होला अब ?’

सँगै बसेका लगानीकर्ताले जबाफ दिए, ‘बढ्छ, पक्कै बढ्छ।’

केही पुरना लगानीकर्ताले भने यसपालिको मौद्रिक नीति राम्रो नै आउने आफूहरुले सूचना पाएको भन्दै थिए। अब फेरि पनि माइक्रोफाइनान्स, इन्स्योरेन्स र डेभलपमेन्ट बैंक नै बढ्ने उनीहरुको ठोकुवा थियो।