– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँझैँ यो साताको पहिलो दिन आइतबार हामीले लगानीकर्ताका विचार र ब्रोकरका गतिविधि बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

कोभिडको प्रभाव र अनलाइन सुविधाका कारण ब्रोकर हाउसमै उपस्थित भएर कारोबार गर्ने लगानीकर्ताको संख्या पातलिँदै गएको देखिन्छ। अधिकांश लगानीकर्ता घरबाटै कारोबार गर्ने गरेका छन् भने केही अझै पनि ब्रोकर हाउसमै उपस्थित भएर साथीहरुसँग छलफल गरेर लगानी गर्न रुचाउने गरेको देखिएको छ। 

आज हामी सुरुमा काठमाण्डौको सुन्धारास्थित सुन्धारा सेक्युरिटिज प्रालिमा पुग्यौँ। त्यहाँ लागनिकर्ताको उपस्थिति ठिकै थियो। लगानीकर्ता आपसमा गफ गर्दै आ–आफ्ना मोबाइल तथा कम्प्युटरबाट बजारको गतिविधि हेर्दै थिए। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अझै पनि हाइड्रोमा नै आकर्षण छ, मैले पनि डीएचपीएल उठाएँ।’

अलि पर बसेका अर्का एक लगानीकर्ताले मोबाइलमा बजार हेर्दै भने, ‘मैले त गोर्खाज फाइनान्स र पोखरा फाइनान्स बेचेँ। फाइनान्समा यतिभन्दा कति नाफा खानु ?’

फेरि ती लगानीकर्तालाई अर्का साथीले सोधे, ‘सीआईटी के गर्नु भयो ?’

ती लगानीकर्ताले जबाफ दिए, ‘केही नाफा खाएर बेचियो। अब ठूला कम्पनीमा बोनस खाएर फाइदा हुन्न हेर्नुहोस्।’

त्यहीँ बसेका केही लगानीकर्ताले एचआईडीसीएलका विषयमा पनि चर्चा गरेको पाइयो। सुरुमा किन्दा घाटा भए पनि अहिले भने निकै फाइदा भएको उनीहरुको भनाइ थियो। 

त्यत्तिकैमा ब्रोकरमा फोन आयो र अप्परको विषयमा सोधपुछ भयो। अगाडि बसेका लगानीकर्ताले भने, ‘यो अप्पर पनि हजार पुग्छ भनेर धेरैलाई झुुक्कायो।’

सँगै बसेका लगानीकर्ताले भने, ‘चिलिमे यति राम्रो छ, बढ्दै बढ्दैन के गर्नु ?’

केहीबेरका बसाइपछि हामी त्यहाँबाट पुतलीसडकस्थित अनलाइन सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४९ पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति निकै पातालो थियो।

एक लगानीकर्ता ब्रोकरसँगै बसेर निकै गहन छलफल गर्दैै भने, ‘मैद्रिक नीति के–कस्तो आउला ?’

ब्रोकरले सुुझाव दिए, ‘भोलिसम्म त आउला अनि कारोबार गर्ने हो कि ?’

केही समयको बसाइपछि हामी पुतलीसडककै स्टक ब्रोकर नम्बर ४८ त्रिशक्ति सेक्युरिटिज पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति राम्रै थियो। केही लगानीकर्ता मौद्रिक नीतिको विषयमा छलफल गर्दै थिए। 

एक लगानीकर्ताले भने, ‘मैले सुनेको थोक माइक्रोफाइनान्सको मात्रै पुँजी बढाउने गरी मौद्रिक नीति ड्राफ्ट भएको छ रे नि ! सेयर धितो कर्जाको सीमा पनि ६५ प्रतिशतमा झार्ने गरी ड्राफ्ट बनेको छ भन्ने पनि सुनिन्छ। गभर्नर पनि अलि कडा नै भएको भन्ने सुनेको छु मैले।’

सँगै बसेका साथीले भने, ‘मैले त डेभलपमेन्ट बैंकलाई पनि हकप्रद ल्याउन सहज हुने गरी मौद्रिक नीति आउन लागेको सुनेको छु।’

त्यसपछि हामी पुतलीसडककै स्टक ब्रोकर नम्बर २५ स्वेता सेक्युरिटिजमा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता कारोबार र गफमा मस्त थिए। एक लगानीकर्ताले भने, ‘मैले त अघिल्लो बुलमा स्ट्यान्डर्ड चार्टर्डमा नराम्ररी घाटा खाएँ तर पछि एनआईसी एसियाले कभर गर्यो।’