– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँको जस्तै साताको पहिलो दिन आइतबार पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार बुझ्ने कोसिसलाई जारी राखेका छौँ। 

आज पनि हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउसमा पुगेका थियौँ। ब्रोकर हाउसमा नयाँ तथा पुराना लगानीकर्ताको उपस्थिति राम्रै थियो। धेरैजसो नयाँ लगानीकर्ता केवाईसी अपडेट गर्न तथा डिम्याट खाता खोल्न तथा अद्यावधिकका लागि ब्रोकर हाउसमा आएका देखिन्थे। 

सुरुमा हामी काठमाण्डौको नक्सालस्थित स्टक ब्रोकर नम्बर १३ थ्राइभ ब्रोकरेज हाउसमा पुगेका थियौँ। मौद्रिक नीतिपछिको पहिलो कारोबार भएर पनि होला लगानीकर्ता निकै उत्सुकताका साथ बजारको गतिविधि निहालिरहेका थिए। तर बजार निरन्तर ओरालो लागिरहेको थियो। त्यहाँ एक पुराना लगानीकर्ता मोबाइलमा आफ्नो १ करोड माथिको पोर्टफोलियो देखाउँदै भने, ‘अब बजार पहिलाको जसरी बढ्ला जस्तो देखिन्न। बजार घटाए यिनी (राष्ट्र बैंक तथा नियामक) हरुले !’

सँगै बसेका अर्का लगानीकर्ताले पनि उनीसँग सहमत हुँदै भने, ‘निहुँ भयो, अब बजार के होला भनेर भन्न गाह्रो छ।’

उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘बुधबार किनेको सेयर खातामा आएको नै छैन, बजार घट्न थाल्यो, बिहीबार किन्नेलाई त घाटा हुने भो।’

केहीबेरको बसाइपछि हामी नक्सालमै रहेको स्टक ब्रोकर नम्बर ४२ सनी सेक्युुरिटिजमा पुुग्यौँ। त्यहाँ क्यापिटल र ब्रोकर हाउ सँगै भएर होला लगानीकर्ताको उपस्थित बाक्लै थियो। केही लगानीकर्ता सिँढीमै बसेर गलफती गर्दै थिए भने केही ब्रोकर हाउसभित्रै थिए। त्यहाँ एक लगानीकर्ताले सोध्दै थिए, ‘अब के गर्ने हो ?’

सँगै बसेका लगानीकर्ताले भने, ‘ग्लोबल आईएमई बैंक किन्न नि !’

त्यहीँ बसेका अर्का लगानीकर्ताले भने, ‘मेरो विचारमा त अहिलेको अवस्थामा सिद्धार्थ बैंक ठिक होला।’ 

सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब त बैंक नै सुरक्षित हुन्छ।’

केही समयको बसाइपछि हामी डिल्लीबजारस्थित स्टक ब्रोकर नम्बर २८ श्रीकृष्ण सेक्युरिटिजतर्फ लाग्यौँ। त्यहाँ पनि लगानीकर्ताको चहलपहल उत्तिकै थियो। लगानीकर्ताहरु मौद्रिक नीतिका विषयमा छलफल गर्दै थिए। एक लगानीकर्ताले भने, ‘यो मौद्रिक नीति पक्कै मिलेमतोमा आएको हो, होइन भने मौद्रिक नीति आउँदैमा बैंकबाट तपाइँको ओडी फ्रिज भयो भनेर फोन कसरी आउँछ ? सानालाई असर खासै नगर्ला तर पनि अहिले नै ओडी फ्रिज भनेर फोन आउनु मिलेमतो नै हो।’

सँगै बसेका अर्का लगानीकर्ताले पनि सहमत हुँदै भने, ‘अर्थमन्त्रीले सोचविचार गर्छन् होला।’

ती लगानीकर्तासँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो नीति परिपत्रमार्फत हुबहु लागू गर्न राष्ट्र बैंकले भन्यो भने त अवस्था गाह्रो हुन्छ। ब्याज पनि बढ्ने हुँदा संस्थागत बिना बजारमा १० अर्बभन्दा बढीको कारोबार त सम्भव छैन।’

त्यहाँबाट हामी डिल्लीबजारकै स्टक ब्रोकर नम्बर १ कुमारी सेक्युरिटिज पुग्यौँ। त्यहाँ कोभिड जोखमिका कारण सबैलाई भित्र जान अनुमति दिइएको थिएन। लागनीकर्ताहरु बाहिरै बसेर छलफलमा व्यस्त देखिन्थे। त्यत्तिकैमा एक लगानीकर्ताले सोधे, ‘अब माइक्रोफाइनान्स र इन्स्योरेन्स के हुन्छ ?’

सँगै बसेका लगानीकर्ताले भने, ‘एकपटक बैंकमा पालो आएपछि यिनीहरुको पनि पालो त पक्कै आउँछ।’

उनीहरुसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अब केही फाइनान्स र हाइड्रो कम्पनीमा सोझा लगानीकर्ता राम्रैसँग फस्न पनि सक्छन्। ठूला टाठाबाठा पक्कै निस्कन्छन्।’

यतिबेलासम्म दिनको २ बज्दै थियो। बजार निरन्तर तलमाथि गर्दै थियो। यत्तिकैमा एक महिला लगानीकर्ता भनिन्, ‘अब के गर्ने के ? खोइ ? द्विविधमा परियो।’