– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँजस्तै साताको पहिलो दिन आइतबार हामीले ब्रोकर हाउसमा पुगेर लगानीकर्ताका विचार र गतिविधि बुझ्ने क्रमलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी बिहान ११ बज्दा–नबज्दै काठमाण्डौ सुन्धारास्थित सुन्धारा ब्रोकर हाउस स्टक ब्रकर नम्बर ५२ मा पुग्यौँ । बिहानैदेखि ब्रोकर हाउसमा  लगानीकर्ताको चहलपहल राम्रै थियो। बजार खुलेदेखि नै निरन्तर घट्न थालेपछि लगानीकर्तामा छट्पटी नै भएको देखिन्थ्यो । यत्तिकैमा एक लगानीकर्ताले भने, ‘लौ यो जीवन विकासको सेयरमा पनि गिरावट आयो।’

बजार निरन्तर ओरालो लागेको थियो। आधा घन्टामै ६० अंकभन्दा बढीले घट्न थालेपछि एक लगानीकर्ता आफ्नो ल्यापटप बन्द गरेर हिँड्न थाले। उनीसँगै बसेका लगानीकर्ताले उनलाई सम्झाउँदै भने, ‘यस्तै बेलामा त किन्ने हो, किन डराएको ?’

साथीहरुले थामथुम पारेपछि ती लगानीकर्ताले पुनः ल्यापटप खोलेर हेर्न थाले र साथीहरुसँग सल्लाह गरेर मुक्तिनाथ विकास बैंक किन्ने निर्णय गरे। 

सोही ब्रोकरमा बसेका लगनीकर्ता ‘नेपाल बैंक किन्नुपर्छ’ भन्दै उठेर टे«ेडिङ रुमतिर गए। 

यो बेलासम्म दिनको १२ बज्दै थियो। बजार ९० अंकको गिरावट आइसकेको थियो। 

केही समयको बसाइपछि हामी खिचापोखरीमा रहेको स्टक ब्रोकर नम्बर ५ मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनीमा पुग्यौँ । त्यहाँ केही लगानीकर्ता भर्याङमा नै बसेर बजार हेरिरहेका थिए । यो बेलासम्म बजार १०० अंकको गिरावट आएको थियो । त्यहाँ लगानीकर्ता भन्दै थिए, ‘अब त बजार फर्किनुपर्ने हो । यसरी त कहिलै नि घटेको थियोजस्तो लागेको थिएन।’

केही समयको बसाइपछि हामी कमलादीस्थित स्टक ब्रोकर नम्बर ३५ कोहिनुर सेक्युरिटिज पुग्यौँ। यतिखेर दिउँसोको १ बज्दै थियो। लगानीकर्ताहरु मोबाइलमा बजार हेर्दै थिए। एक ढाकाटोपी लगाएका लगानीकर्ताले भने, ‘बजार झट्टै फर्किन छाँट छैन। यो बजारमा ठूलाले बेचेको हुनुुपर्छ।’

दिउँसो १ बजे बजार ५ प्रतिशतको नेगेटिभ सर्किट ब्रेक लागेर ४० मिनेटका लागि बन्द भयो। त्यहाँ उपस्थित एक लगानीकर्ता भने, ‘अब खुलेपछि धेरै घटेको कम्पनीमा पस्नुपर्छ किनकि बजार धेरै सोचेभन्दा तल आयो । यो त अहिलेसम्मकै ठूलो गिरावट हुनुपर्छ। विगत हेर्दा यसरी घटेको भोलिपल्ट बजार फर्केको छ।’

केही लगानीकर्ता भने राष्ट्र बैंकले ल्याएको नीतिको चर्को आलोचना गर्दै थिए।  त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो राष्ट्र बैंकले अर्थ समितिको निर्देशन मानेन। सेयर बजारमा नकारात्मक प्रभाव पर्ने खालको नीति नल्याउन भनेपछि अर्थ समितिको निर्देशन त अर्थ मन्त्रालय र राष्ट्र बैंकले मान्नुपर्छ नि ! आज यो अवस्था नै आउने थिएन।’

ती लगानीकर्ताले भारतको उदाहरण दिँदै भने, ‘नेपालमा सेयर बजार बढ्यो भनेर नियामकले लगाम लगाउनु संकुचन विचार हो।’

उता क्लाब हाउसमा बोल्ने अधिकांश लगानीकर्ताले पनि राष्ट्र बैंकको आलोचना गरेका छन्। बजार बढ्दा बोल्ने नियामक निकाय घट्दा पनि अभिवाकत्व देखाउनुपर्ने उनीहरुको आशय छ।

धेरैजसो वक्ताले बजार बढे  सरकार, लगानीकर्ता तथा नियामक निकाय सबैलाई राम्रो हुने तर्क गर्दै बजार सधैँ घटेको घटै नगर्ने हुनाले साना लगानीकर्ता धेरै प्यानिक हुन नहुने तर्क गरे। 

लाभांशको सिजन भएकोले बजार छिट्टै फर्किने क्लब हाउसका वक्ताहरुको विश्वास थियो।