– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नियमितजसो साताको पहिलो दिन आइतबार हामीले राजधानीका विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यही क्रममा आज हामी नक्साल र कमलादीमा रहेका विभिन्न ब्रोकर हाउस पुग्यौँ। सुरुमा हामी नक्सालस्थित सनी सेक्युरिटिज स्टक ब्रोकर नम्बर ४२ मा पुग्दा लगानीकर्ता आउने क्रम जारी थियो। बिहानको ११ बज्दै थियो। ब्रोकर हाउसभित्र अर्डर फाराम भर्दै गरेका एक लगानीकर्ताले भने, ‘बंैकहरुको पालो कहिले आउने हो ? कुर्दा–कुर्दा हैरान भइयो।’ ती लगानीकर्ताले एनआईसी एसिया र मेगो बैंक सेयर बेच्ने अर्डर राखे। 

त्यही ब्रोकरमा गत मंगलबार जीवन विकास लघुवित्तको सेयर बेचेका तर ईडीआईएस हुन नसकेको भन्दै दुई महिला गुनासो गर्दै थिए। ‘यो ईडीआईएसमा किन सधैँ समस्या हुन्छ ?’, उनीहरु भन्दै थिए।

यतिबेलासम्म मध्याह्नको १२ बज्दै थियो। बजार निरन्तर बढ्दै थियो। ब्रोकर हाउसमा लगानीकर्ताको उत्साह पनि बढ्दै गरेको देखिन्थ्यो। 

त्यहाँ केही समयको बसाइपछि हामी नक्सालकै थ्राइभ ब्रोकरेज हाउस स्टक ब्रकर नम्बर १३ पुग्यौँ। त्यहाँ पुरानाभन्दा धेरै नयाँ लगानीकर्ता टीएमएस लिन र दोस्रो बजारमा कारोबार कसरी गर्ने भन्ने बुझ्न आएका देखिन्थे। त्यहाँ पनि एक लगानीकर्ता जीवन विकासको १० कित्ताले आफूलाई दोस्रो बजारमा तानेको भन्दै थिए। ‘अब टीएमएस लिएर कारोबार गर्ने हो’, ती लगानीकर्ताले भने। 

त्यहाँबाट हामी नक्सालकै नासा सेक्युरिटिज स्टक ब्रोकर नम्बर ५८ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति बाक्लै थियो। त्यहाँ उपस्थित एक लागानीकर्ताले भने, ‘बढ्ने त हाइड्रो नै हो। अब अप्पर तामाकोशीको सम्भावना राम्रै देखिन्छ। मैले त १ः२ अनुपातमा हकप्रद आउने चर्चा सुन्दैछु।’

उनीसँगै बसेका अर्का लगनीकर्ताले पनि सहमत हुँदै पुँजी निकै थोरै भएको र ऋण बढी भएकोले हकप्रद ल्याउने सम्भावना रहेको बताए। उनले भने, ‘हकप्रद निकालेर ऋण तिर्ने र कमाएको नाफाबाट बोनस दिने भन्ने सुनिन्छ।’

त्यसपछि हामी कमलादीस्थित प्रज्ञान सेक्युरिटिज स्टक ब्रोकर नम्बर १० मा पुग्यौँ। त्यहाँ पनि  लगानीकर्ताको बाक्लो उपस्थिति थियो। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो एमसीसी पास भए त हाइड्रो बढ्छ भन्छन् नि ! हाइड्रसँगै नेप्से पनि उछाल आउँछ।’

सँगै बसेका लगानीकर्ताले भने, ‘मैले पनि त्यस्तै सुनेको छु।’ 

उनीहरुसँगै बसेका एक लगानीकर्ताले भने, ‘आज पनि डेभलपमेन्ट बैंकहरु बढे।’

जबाफमा अर्का लगानीकर्ताले भने, ‘मैले पालुन्जेल बढेन, बल्ल बढ्यो।’

ती लगानीकर्तालाई जबाफ दिँदै कम्प्युटर हेरेर बसेका लगानीकर्ताले भने, ‘कर्णाली डेभलपमेन्ट बैंक किन्नुस्, अब।’