– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सधैँझैँ नियमित स्तम्भ ग्राउन्ड जिरोका लागि हामी धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार राजधानीको कमलादीस्थित विभिन्न ब्रोकर हाउस पुग्यौँ। ब्रोकर हाउसहरुमा पुगेर हामी लगानीकर्ताका विचार तथा गतिविधि बुझ्ने क्रमलाई जारी राखेका हौँ। 

यसै सिलसिलामा बिहान ११ बज्दा नबज्दै कमलादी तथा हात्तीसारस्थित मल्ल एन्ड मल्ल स्टक ब्रोकर नं. ११ मा पुग्दा लगानीकर्ताको उपस्थिति राम्रै थियो। एक लगानीकर्ताले मोबाइलमा हेर्दै ‘आज त हाइड्रोले बजार तत्ताउलाजस्तो छ तर बजार भने त राम्रैसँग घट्छ कि जस्तो छ’ भन्दै थिए। त्यसपछि उनी माथिल्लो तामाकोशीको सेयर किन्नतिर लागे। 

कमलादीकै स्टक ब्रोकर नं. ३५ कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा पनि लगानीकर्ताको भीडभाड नै थियो। कोही डिम्याट तथा अन्य काममा व्यस्त थिए भने कोही सेयर किनबेचमा। यत्तिकैमा एक लगानीकर्ताले भने, ‘अघिल्लो महिना स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर ६९० रुपैयाँमा किनेको अहिले १०० रुपैयाँ नै घट्यो। बुटवल पावर कम्पनीको पनि उस्तै हालत छ।’ 

अर्का लगानीकर्ता भने आफूले सेयर बेचेको पैसा १४ दिनसम्म पनि नपाएको भन्दै गुनासो पोखिरहेका थिए। उनीसँगै रहेका एक पाका लगानीकर्ता पनि आफूले कम मूल्यमा सेयर बेचेको तर पछि बढेको भनेर गुनासो गर्दै थिए। 

केहीबेरको बसाइपछि हामी त्यहाँबाट कमलादीकै सुमेरु सेक्युरिटिजतर्फ लाग्यौँ। त्यहाँ अन्यत्रभन्दा छुट्टै वातावरण थियो।

लगानीकर्ताहरु बाहिर चैते घाममा बसेर राजनीतिक तथा सेयरका गफमा  मस्त थिए। एक महिला लगानीकर्ताले भनिन्, ‘अघिल्लो हप्ता लघुवित्तको सेयर उच्च मूल्यमा किनियो, अहिले त घट्यो।’

आडैमा बसेका पुरुष लगानीकर्ताले भने, ‘यो महिना त घट्ने नै हो बजार, अब थप नकिन्नुस्।’

बाहिर मोटसाइकलमाथि बसेर भने केही लगानीकर्ता मस्तसँग राजनीतिक गफ गर्दै थिए। एक लगानीकर्ताले भने, ‘कम्युनिस्टहरु त अब आफैँ सकिने भए।’

त्यत्तिकैमा अर्का लगानीकर्ताले थपे, ‘अब यिनीहरु आफैँ हानाहानमा उत्रिनेछन्।’

त्यही समूहका अर्का युवा लगानीकर्ताले थपे, ‘सरकार चलाउने त कांग्रेसको पो पालो आउनेजस्तो देखियो त।’ 

सोही ब्रोकर हाउसभित्र बसेका लगानीकर्ताले भने डिस्प्ले नखुलेकोमा गुनासो गर्दै थिए। लगानीकर्ताहरु भन्दै थिए, ‘सबैतिर सामान्य भयो, किन होला नखुलेको ? न इन्टरनेट चल्छ ? न डिस्प्ले खुल्छ ?’

कमलादीकै अर्को स्टक ब्रोकर नं. ११ प्रज्ञान सेक्यरिटिजमा पुग्दा लगानीकर्ताहरु आफ्नै ल्यापटपमा बजार हेर्दै थिए। एक लगानीकर्ताले माथिल्लो तामाकोशीको सेयरमूल्य देखाउँदै भने, ‘आज त यो बेच्ने दिन हो, बढेको छ।’

त्यसपछि कमलादीमै रहेको स्टक ब्रोकर नं. २८ श्रीकृष्ण सेक्युरिटिजमा पुग्दा त्यहाँ पनि लगानीकर्ता गफमै मस्त थिए। त्यत्तिकैमा एक नयाँ लगानीकर्ताले सोधे, ‘होइन यो बजार के हो ? यस्तो किन घटेको यसरी ?’

आडैमा बसेका अर्का लगानीकर्ताले भने, ‘किन्ने मौका हो, हाइड्रो किन्नुस्। ब्याजदर घटेर नाफा बढेको छ। तेस्रो त्रैमासको वित्तीय रिपोर्ट पनि राम्रै आउँछ।’