– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सधैँको साताजस्तै आज आइतबार पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचर सुन्ने तथा बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ। 

यसै सिलसिलामा आज हामी सबैभन्दा पहिले ११ बज्दा नबज्दै पुतलीसडकस्थित श्वेता सेक्युरिटिज (स्टक ब्रोकर नं. २५) पुग्यौँ। बजार खुलेदेखि घट्ने क्रम जारी थियो। ब्रोकर हाउसमा लगानीकर्ता आउने क्रम जारी थियो। 

श्वेतामा भेटिएका एक लगानीकर्ताले भने, ‘ब्रोकर हाउस आएपछि केही न केही किन्नु नै पर्यो नि।’

सँगै बसेका साथीप्रति इंग्ति गर्दै ती लगानीकर्ताले फेरि भने, ‘उहाँ त घट्दा पनि आनन्द बढ्दा पनि आनन्द। हामी त दिन काट्ने त हो नि !’

नेपाल बैंकमा १८ वर्ष जागिर खाएको बताउने ती लगानीकर्ताले भन्दै थिए, ‘सेयर त घटेको बजारमा नै किन्ने हो। म त स्वावलम्बन लघुवित्त र एनटीसी किन्छु।’

केही समयको बसाइपछि हामी पुतलीसडकमै रहेको अनलाइन सेक्युरिटिज (स्टक ब्रोकर नं. ४९) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य नै थियो। लगानीकर्ताहरु बजार घटेकोमा निकै चिन्तित देखिन्थे। 

यतिबेलासम्म मध्याह्नको १२ बजिसकेको थियो। एक लगानीकर्ताले भने, ‘मैले त ३२०० को इन्डेक्समा नेपाल लाइफ इन्स्योरेन्स २३०० रुपैयाँभन्दा माथि किनेको थिएँ, अहिले ६०० रुपैयाँभन्दा तल आएको छ। एनआरआईसी पनि १८०० रुपैयाँतिर किनेको थिएँ, अहिले ६०० रुपैयाँ तल नै आएको छ। नबिल पनि १५०० रुपैयाँतिर किनेको, त्यस्तै छ।’

ती लगानीकर्ताले आफूलाई ८० प्रतिशत घाटा भएको गुनासो गरे। ‘मैले त सर्किटमा नै किनेको थिएँ, अहिले यस्तो होलाजस्तो लागेको नै थिएन’, ती लगानीकर्ताले भने, ‘७५ लाख रुपैयाँको पोर्टफोलियो २५ लाख रुपैयाँमा झरेको छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले ठट्यौली पारमा भने, ‘तपाइँले रातो टी–सर्ट लगाएर पनि बजार घटेको हो।’

एकछिन ब्रोकर हाउसभित्र हाँसो मच्चियो। 

केही समयको बसाइपछि हामी पुतलीसडकमै रहेको प्राइमो सेक्युरिटिज (स्टक ब्रोकर नं. १६) मा पुग्यौँ। दिउँसोको १ बजिसकेको थियो। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति ठिकै थियो। 

आफू त्रिभुवन युनिभर्सिटीको प्राध्यापक बताउने एक लगानीकर्ता पनि बजारप्रति निकै निराश देखिन्थे। निफ्राको लाभांशको उदाहरण दिँदै उनले भने, ‘कम्पनीले नै साह्रै कम घोषणा गरेका छन्।’

फेरि नेपाल लाइफ इन्स्योरेन्सको उदाहरण दिँदै ती लगानीकर्ताले भने, ‘२३०० रुपैयाँमा किनेको अहिले ६०० रुपैयाँभन्दा तल आयो। लाइफ इन्स्योरेन्स पनि त्यस्तै छ। १९०० रुपैयाँतिर किनेको अहिले १ हजार रुपैयाँमा आउन लागेको छ।’

ती लगानीकर्ताले अहिले म्युचुअल फन्ड र इन्स्योरेन्स कम्पनीले पैसा ब्याजमा लगाउँदा बजार घटेको बताए। आक्रोशित हुँदै उनले भने, ‘म्युचुअल फन्डले २० प्रतिशतभन्दा बढी नगद राख्न पाउँदैनन्। नागरिक स्टक डिलरको अवस्था पनि त्यस्तै छ। को बोल्ने खोइ ?’

स्क्रिन देखाउँदै ती लगानीकर्ताले भने, ‘१० कित्ताले बजार घटाएका छन्। तर, ढुक्क हुनुहोस् बजार १८०० बाट तल आउँदैन। अहिले बेच्ने भनेको दसैँ खर्चका लागि बेचेका हुन्।’