– अर्जुन तिमिल्सिना

काठमाण्डौ। सधैँको हप्ताजस्तै आज आइतबार पनि हामीले लगानीकर्ताको विचार र बहस सुन्न राजधानीका विभिन्न ब्रोकरहाउसमा पुग्ने क्रमलाई जारी राखेका छौँ। 

यसै सिलसिलामा आज हामी ११ बज्दानबज्दै राजधानीको कालिकास्थानस्थित नयाँ भवनमा सरेको नेपाल स्टक हाउस ब्रोकर नं. १४ मा पुग्यौँ।  बिहानैदेखि त्यहाँ लगानीकर्ताको चहलपहल सुरु भइसकेको थियो। अघिल्लो हप्तामात्रै नयाँ भवनको उद्घाट्नसँगै स्थापित बुलिस मार्केटको प्रतीक साँढेको प्रतीमाले त्यहाँ उपस्थित लगानीकर्ताको ध्यान तोकेको थियो। 

त्यसो त उक्त ब्रोकर हाउसमा डिस्प्ले पनि खोलिएकोले लगानीकर्ताहरु निकै सहज महसुस गरिरहेका देखिन्थे। एक लगानीकर्ताले भने, ‘ब्रोक हाउसमा यत्रो साँढे राखिएछ, हामीलाई थाहा नै भएन।’

सँगै बसेका अर्का लगानीकर्ताले ठट्यौली पारामा भने, ‘तपाइँ कहिलेकाहीँ आउने भएकोले होला।’

सोही ब्रोकर हाउसमा रहेकी अर्की महिला लगानीकर्ताले भर्खरै परेको ग्रीनलाइफ हाइड्रोको सेयर बेचेको बताइन्, ‘अहिले हेर बढ्यो’, उनले भनिन्। तर आज बजार बन्द हुँदासम्म यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। 

त्यहीँ रहेका अर्का एक लगानीकर्ताले आश्चर्य मान्दै भने, ‘एनबीबीको सेयर त घट्यो नि !’ आज बजारको सुरुआती चरणमा घटेको एनबीबीको मूल्य पछि बढेको थियो।

अर्का लगानिकर्ताले जबाफ फर्काए, ‘नबिलले आफ्नै फाइनान्स त मर्ज गर्न सकेको छैन, कसरी गर्ला र अरु खोइ ?’

त्यत्तिकैमा एक लगानीकर्ताले चन्द्रागिरी हिल्सको सेयरको प्रसंग उठाउँदै भने, ‘यो त १५०० पुग्ने भयो।’

सँगै बसेका अर्का लगानीकर्ताले थपे, ‘त्यति त भोलि नै पुग्छ।’

आडैमा बसेका अर्का लगानीकर्ताले प्रश्न गरे, ‘अब एनटीसीको सेयर के हुन्छ ? अम्बिकाप्रसाद पौडेल सञ्चालकमा गएका छन्।’

छेवैमा बसेका अर्का लगानीकर्ताले भने, ‘केही सुधार हुन सक्छ।’

केहीबेरको बसाइपछि हामी पुतलीसडकस्थित प्रिमियर सेक्युरिटिज स्टक ब्रोकर नं. ३२ मा पुग्यौँ। त्यहाँ लगानीकर्ताहरु कारोबारमा ब्यस्त नै देखिन्थे। एक नयाँ महिला लगानीकर्ताले सोधिन्, ‘होइन यी माइक्रोफाइनान्सको सेयर सधैँ यसरी नै बढ्ने हो ?’

सँगै बसेका पुरुष लगानीकर्ताले भने, ‘त्यस्तो भए त हामी कहाँ पुग्थ्यौँ कहाँ ? मैले किनेको त्यो उन्नतिको सेयर त बल्ल लगानी उठ्दैछ। अहिले बढेको बेला किनेर पछि घट्यो भने त फेरि चुर्लुम्म डुबिन्छ नि !’

‘हामीजस्ता सानो पुँजी भएकालाई त यो बजार गाह्रो पो रहेछ घट्दा किन्ने पैसा नै हुन्न’, तिनै लगानीकर्ताले विवशता सुनाए।

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘यो बजारमा चल्न नजाने त करोड नै भए नि त्यही हो।’

अर्का लगानीकर्ताले भने, ‘अब त बजार पहिलाको रेकर्ड ब्रेक गर्छ कि जस्तो छ।’

ती लगानीकर्तालाई जबाफ दिँदै अर्का व्यक्तिले भने, ‘यसरी ह्वातह्वाती बढ्यो भने पछि त गाह्रो छ भोलिबाट करेक्सन आउन पनि सक्छ।’

सोही ब्रोकरमा पछाडिको सिटमा एक नयाँ महिला लगानीकर्ता र पुरुष लगानीकर्ता मोबाइलबाट कसरी सेयर कारोबार गर्न सकिन्छ भनेर छलफल गर्दै थिए। त्यत्तिकैमा महिला लगानीकर्ताले सोधिन्, ‘यो अर्डर कति समयका लागि प्लेसमेन्ट गर्न सकिन्छ ? २–४ वर्षका लागि पनि ?’

पुरुष लगानीकर्ताले हास्दै जबाफ दिए, ‘होइन ! आजको आजै हो।’

त्यसपछि हामी पद्मोदय मोडनजिक रहेको सेक्युअर्ड सेक्युरिटिज स्टक ब्रोकर नं. ३६ पुग्दा लगानीकर्ताहरु कारोबार र गफमा मस्त थिए। त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘गएको हप्ता माइक्रोको सेयर बेचेर एनबीबीको सेयर किनियो, आज  माइक्रोको बढ्यो। एनबीबीको घट्यो।’ पछि एनबीबीको सेयरमूल्य बढेको थियो।

त्यत्तिकैमा आडैमा बसेका लगानीकर्ताले भने, ‘हाइड्रोको सेयर के हुन्छ ?’

उनीसँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘म त किन्दिनँ, प्रतिफल नदिने कम्पनीहरुका सेयर। बैंकमा लगानी गर्ने हो, बजार बढ्न अझै २ बर्ष बाँकी छ, १ को ३ बनाएर निस्कने हो।’

केही समयको बसाइपछि हामी अनामनगरस्थित स्टक ब्रोकर नं. ३४ मा पुग्दा लगानीकर्ता कोही लकडाउनको बेला बजार घटेको पीड पेख्दै थिए त  कोही सेयर बजारमा आफ्नो अनुभब सुनाउँदै थिए। एक लगानिकर्ताले भने, ‘म त सेयर बजारमा ३१ वर्षदेखि छु, डिल्लीबजारदेखि आउँछु। तर दोस्रो बजारमा आएको त बल्ल २ वर्ष भयो।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘तपाइँ पहिला नै आएको भए त बजारबाट कमाएर बीएमडब्ल्यू नै चढ्नु हुने रहेछ। बजारमा कमाउने अवसर त प्रशस्त छ नि।’

तिनै लगानीकर्ताले मोबाइल देखाउँदै भने, ‘सेयर बजारमा तपाइँले प्राविधिक तथा आधारभूतको ज्ञान राम्रैसँग हुनुपर्छ। यो बैंकका सेयर होल्ड गर्दागर्दा हैरान भयो, अब तेस्रो क्वार्टरमा नबढे म त फालिदिन्छु।’

केही समयको बसाइपछि अनामनगरमै रहेको आर्यतारा इन्भेस्टमेन्ट सेक्युरिटिज स्टक ब्रोकर नं. ५७ मा पुग्यौँ। केही लगानीकर्ता भन्दै थिए, ‘अब अर्को सरकार आए पनि अर्थ मन्त्रालयमा राम्रै मान्छे आउँछ बजार त माथि नै जाने हो।’

केही लगानीकर्ता भने अघिल्लो हप्ता गएको बनभोजको गफ गर्दै थिए। त्यत्तिकैमा एक पुरुष लगानीकर्ता भित्र छिर्दै ठट्यौली पारामा महिला लगानीकर्तालाई भने, ‘किन झोक्राएको हो ?’

ती महिला लगानीकर्ताले जबाफ दिइन्, ‘अस्ति पिकनिकमा लभ परेको, आज ट्र्याजिटी परेर नि !’

पिकनिकको प्रसंगमा अरुले आफूलाई कमजोर आँकलन गरेपछि आडैमा बसेका अर्को मोटाघाटा कालो चस्मा टाउकोमा राखेका एक लगानीकर्ताले भने, ‘म पनि गाउँमा हुर्केको हुँ, दगुर्न र रुख चढ्न कम छैन।’