– अर्जुन तिमिल्सिना
काठमाण्डौ । सधैँझैँ साताको पहिलो दिन आइतबार हामी काठमाण्डौका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौँ।
यसै सिलसिलामा आज हामीले पुतलीसडक र अनामनगर आसपासका क्षेत्रमा रहेका ब्रोकर हाउस पुगेका थियौँ। सबैभन्दापहिले हामी पुतलीसडकस्थित सेक्योर्ड सेक्युरिटिज (स्टक ब्रोकर नं. ३६) पुग्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति सामान्य थियो। बजार केही अंकले बढिरहेको थियो।
सेक्योर्डमा भेटिएका एक लगानीकर्ता भने, ‘राम्रो भनेर किनेको यो नबिल बैंक पनि खासै माथि जान सकेन। पोर्टफलियो फेर्नु पर्लाजस्तो छ।’
त्यहाँ केही समयको बसाइपछि हामी अनामनगरस्थित प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नं. ३२) पुग्यौं। त्यहाँ भने लगानीकर्ताको उपस्थिति राम्रै थियो। मध्याह्नको १२ बजिसकेको थियो। बजार १५ अंकभन्दा बढीले बढेको थियो।
प्रिमियरमा भेटिएका लगानीकर्ताले रजनीतिक विषयमा छलफल गर्दै थिए। ‘एउटा व्यक्ति वा पार्टी सरकारबाट निस्किँदैमा बजारलाई केही फरक पर्दैन। अर्को व्यक्ति खुट्टा उचालेर बसेको छ। त्यही कारणले सरकार ढल्दैन’, एक लगानीकर्ताले भने, ‘राष्ट्र बंैकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पनि छिट्टै ल्याउँदैछ।’
प्रिमियरमै भेटिएका अर्का एक लगानीकर्ताले भने, ‘आज पनि हाइड्रो र इन्स्योरेन्समै चार्म देखियो।’
यही ब्रोरकमा केही लगानीकर्ता भन्दै थिए, ‘पिपुल्स पावर चम्केलाजस्तो छ, अब बजार बढ्दा यो कम्पनी राम्रै बढ्न सक्छ।’
प्रिमियरमै भेटिएका एक लगानीकर्ता भने, ‘मैले त २ वटा बुल र २ वटा बियर सामना गरेँ। खासै पैसा बनाउन सकिएन। होल्ड इज गोल्ड भन्ने पनि बेकार नै रहेछ।’
ती लगानीकर्तालाई समर्थन गर्दै सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘अहिले ट्रेड गर्नेहरुले बजारमा जितेका छन्। १०–२० रुपैयाँ फाइदा आयो कि बेचिहाल्छन्।’
केही लगानीकर्ताले भने चिलिमे जलविद्युत कम्पनीमा अब लगानीकर्ताको आकर्षण हुने दाबी गर्दै थिए। केहीले राजनीतिले केही दिन बजार तरंगित भए पनि राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षापछि भने बजारले लय समात्ने सक्ने बताउँदै थिए।
दिउँसोको १ बजिसकेको थियो। बजार सामान्य गतिमा चलिरहेको थियो।
प्रिमियरबाट हामी अनामनगरमै रहेको भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)मा पस्यौँ। त्यहाँ लगानीकर्ताको उपस्थिति राम्रै थियो। त्यहाँ पनि लगानीकर्ताहरु राजनीतिकै बारेमा चर्चा गरिरहेका थिए।
त्यहाँबाट हामी अनामनगरस्थित इम्पेरियल सेक्युरिटिज (स्टक ब्रोकर नं. ४५)मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताको उपस्थिति सामान्य नै थियो।
इम्पेरियलमा भेटिएका एक लगानीकर्ताले अब बैंकहरु पनि चल्ने बताउँदै थिए। ‘बैंकमा स्ट्यान्डर्ड चार्टर्ड र एभरेस्ट बैंक तथा हाइड्रोमा चिलिमेजस्ता कम्पनी फेरि बजारमा चल्न सक्छन्’, ती लगानीकर्ताले भने।
आज खासगरी ब्रोकर हाउसहरुमा राजनीतिक चर्चा नै बढी सुनियो भने लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेको बुझियो।
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago