– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सधैँजस्तै यो हप्ता पनि ग्राउन्ड जिरोअन्तर्गत हामी राजधानीका विभिन्न ब्रोकर हाउस पुगेका छौँ। 

यसै सिलसिलामा बिहान ११ बज्दा नबज्दै हामी काठमाण्डौको सुनधारास्थित सुनधारा सेक्युरिटिज ब्रोकर नं. ५२ पुग्दा लगानीकर्ताको भीड लागिसकेको थियो। केही लगानीकर्ता ब्रोकर हाउसभित्रै आआफ्नो ल्यापटपमा बजार हेर्न मस्त देखिन्थे। आज चन्द्रगिरी हिल्सको सेयर घटेकोमा आश्चर्य मान्दै एक लगानीकर्ताले भने, ‘आज त चन्द्रागिरीको भाउ १० प्रतिशतले घट्छ कि क्या हो ?’ 

अर्का एक लगानीकर्ता भने हत्तारिँदै ब्रोकर हाउसभित्र पसे र आफूले बिहीबार सेयर बेचेको तर ईडीआईएस गर्न नजानेको भन्दै थिए।। उनले भने, ‘मैले नजानेपछि ब्रोकरलाई नै युुजर आईडी र पासवोर्ड दिएको थिएँ तर आजसम्म खाताबाट सेयर काटेको छैन।’ 

त्यत्तिकैमा अर्का एक लगानिकर्ता भित्र पसे र भने, ‘सरहरु ! के छ हालखबर ?’

जबाफमा एक लगानीकर्ताले भने, ‘चन्द्रगिरी बेचियो २२५० रुपैयाँमा।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले बधाइ दिँदै सोधे, ‘अब १८७२ मा किन्दा कसो होला ?’

जबाफ आयो, ‘हाई रिक्स !’

ती लगानीकर्ताले स्वीकार गर्दै फेरि भने, ‘क्यान्सिल त्यसो भए, बरु एचआईडीसीएल लिनुपर्ला।’

केहीबेरको बसाइपछि हामी न्युरोडको खिचापोखरीमा रहेको मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी स्टक ब्रोकर नं. ५ पुग्दा लगानीकर्ताहरु खरिदबिक्रीमा व्यस्त थिए। एक लगानीकर्ताले अघिल्लो हप्ता एचआईडीसीएलको बेचेको सेयर बढेको गुनासो गर्दै थिए। 

उनीसँगै बसेकी एक महिला लगानिकर्ताले भनिन्, ‘बेचेर जति नाफा आयो, त्यत्ति नै आफ्नो।’

कालो चस्म लगाएर भर्याङमा बसेका ती पुरुष लगानीकर्ताले हास्दै ती महिला लगानीकर्ताले भनेको स्वीकार गरे। 

केही समयको बसाइपछि हामी त्यहाँबाट न्युरोडकै धर्मपथमा रहेको जेएफ सेक्युरिटिज स्टक ब्रोकर नं. ७ मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ताहरु सेयर खरिदबिक्रीमै मस्त थिए। त्यहाँ पनि चर्चा चन्द्रागिरीको सेयरकै थियो। 

एक लगानिकर्ताले भने, ‘चन्द्रागिरीको १ लाखभन्दा बढी कित्ता बिक्री भयो, आजको उच्च कारोबार पनि यसैको होलाजस्तो छ।’

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने, ‘मैले अघिल्लो बुलमा एचआईडीसीएलको सेयर सबैभन्दा उच्च मूल्यमा ४७६ रुपैयाँमा किनेको लामो समय होल्ड गरियो, बल्ल आज ४०० रुपैयाँ माथि पुग्यो।’

सँगै बसेका एक लगानीकर्ताले भने, ‘मैले अपीको सेयर ७०० रुपैयाँ माथि किनेको थिएँ, बोनस र हकप्रदले गर्दा धेरै घाटा भएको छैन।’

ती लगानीकर्तासँगै बसेका एक लगानीकर्ताले भने, ‘निफ्रार र अप्पर त अझै माथि जान्छ। यिनीहरुको सेयरमा खरिद प्रेसर हेर्दा त्यस्तै देखिन्छ।’

सेयर बजारको रौनक राजधानीका ब्रोकर हाउसहरुमा मात्रै सीमित छैन। राजधानीका चिया तथा कफी पसलमा पनि त्यत्तिकै देखिन्छ। 
न्युरोडस्थित एउटा कफी पसलमा पनि सेयरकै चर्चा चलिरहेको थियो। कफी पसलका सञ्चालकले अघिल्लो बुलको याद गर्दै भने, ‘८ लाख रुपैयाँजतिको सेयर थियो, १० लाख पुग्ला र बेचौँला भनेको त ६ लाख रुपैयाँमा पो आयो।’

ती सञ्चालकले भने, ‘यो भत्किन लागेको घर, बुढो भएको मान्छेको जीवन र सेयरको त केही भर नहुने रहेछ।’

पसलमा कफी बेच्दै सेयरको पनि कारोबार गर्दै आएका ती व्यक्ति सेयर हेर्दै कफी बनाउँदै थिए। उनले भने, ‘एकछिनपछि मेरो पसलमा सबै सेयर कारोबार गर्नेबाहेक कोही हुन्न।’

ती कफी पसल सञ्चालकले पहिले आफ्नो पसलमा जग्गा कारोबारको भीड लाग्ने गरेकोमा अहिले सेयर कारोबारीहरु आउने गरेको बताए। ‘मेरो त स्टाफले पनि मोबाइलमै सेयरका गतिविधि हेर्छन्। मेरो पसल नै सेयरमय भएको छ।’

सार्वजनिक बसमा पनि सेयरकै चर्चा सुनिन थालेको छ। बसमा यात्रा गरिरहेकी एक महिला लगानीकर्ता गत शुक्रबार बाँडफाँड भएको ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा आफ्नो परिवारका ५ जनालाई परेको भन्दै दंग थिइन्। ‘मेरो परिवारका ६ जनाले ज्योति लाइफ आईपीओ भरेका थिए’, उनले भनिन्, ‘१ जनालाई परेन।’

ती महिला लगानीकर्ताले सेयर कारोबार गर्न भने निकै गाह्रो रहेको सुनाइन्। ‘ब्रोकर हाउस, क्यापिटल जानुपर्ने, भीडभाड त्यस्तै’, उनले भनिन्, ‘मेरो त ब्रोकरले नाम–थर नै बिगारेकोले कारोबार गर्नै पाइरहेको छैन।’