– अर्जुन तिमिल्सिना     

काठमाण्डौ । सधैँजसो यो साताको पहिलो कारोबार दिन आइतबार हामी राजधानीका विभिन्न ब्रोकर हाउसमा पुग्यौँ। ब्रोकर हाउस पुगेर आम लगानीकर्ताको विचार तथा बजारको बस्तुस्थिति बुझ्ने हाम्रो मुख्य ध्येय हो। 

यसै सिलसिलामा आज हामी राजधानीको व्यस्त ठाउँ तथा नेप्से चोक भनेर चिनिने कमलादीस्थित विभिन्न ब्रोकर हाउस पुग्यौँ। सबैभन्दा पहिले हामी कमलादीको मल्ल एन्ड मल्ल सेक्युरिटिज स्टक ब्रोकर नं. ११ मा पुग्दा त्यहाँ लगानीकर्ताको उपस्थिति बाक्लै थियो। कोही मोबाइलमा त कोही आफ्नै ल्यापटपमा बजार हेर्दै खरिदबिक्रीमा मस्त थिए। 

आज बिहानैदेखि सेयर बजारमा निर्जीवन बीमा समूहमा चमक आइरहेको थियो। यत्तिकैमा एक लगानीकर्ताले सानिमा जनरल इन्स्योरेन्सको सेयर किन्न दौडिए। सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘हिमालयन जनरल इन्स्योरेन्स सस्तो छ।’

ती लगानीकर्तासँगै बसेका अर्का एक व्यक्तिले भने, ‘हाइड्रोको पनि चार्म आउँछ है, हिमाल दोलखा हाइड्रोपावर किन्दा हुन्छ।’ 

केही लगानीकर्ता भने आफ्नै ल्यापटपमा बजार हेर्दै अघिल्लो हप्ता निर्जीवन बीमा कम्पनीहरुको सेयर बेचेकोमा पछुतो मानिरहेका थिए। 

त्यहाँबाट हामी कमलादीमै रहेको कोहिनुर इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालि स्टक ब्रोकर नं. ३५ पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता निर्जीवन बीमा कम्पनीहरुकै सेयरका विषयमा चर्चा गर्दै थिए। एक लगानीकर्ताले सोधे, ‘किन बढेका यसरी ननलाइफ ? अब त लाइफ पनि बढ्छन् होला है ?’

सँगै बसेका अर्का लगानीकर्ताले जबाफ दिए, ‘ननलाइफको त पुँजी सानो र हकप्रदको सम्भावना भएर हो। लाइफको त पहिले नै पुँजी पुगिसकेको छ।’
त्यत्तिकैमा स्मार्ट लगानीकर्ताजस्तो दिखिने एक व्यक्तिले पछुतो मान्दै भने, ‘एउटा ननलाइफ कम्पनीको एक हजार कित्ता सेयर अघिल्लो हप्ता बेचेर क्या गल्ती भयो।’

अर्का एक नयाँ लगानीकर्ता सेयर बेचेको तर ईडीआइएस गर्न नजानेको भन्दै ब्रोकरसँग गुनासो पोख्दै थिए। 

केही समयको बसाइपछि हामी त्यहाँबाट हात्तीसारस्थित सुमेरु सेक्युरिटिज स्टक ब्रोकर नं. ३९ पुग्यौँ। त्यहाँ भने लगानीकर्ता बाहिरै घाम तापेर गफमा मस्त थिए। कोही भने मोटरसाइकल माथि बसेर फर्म भर्दै थिए। ब्रोकर हाउसको पिछाडिपट्टि बसेका केही लगानीकर्तालाई भने आजको ननलाइफ बढेकोमा चित्त बुझेको थिएन। ‘कति बेला बजारले नराम्रोसँग पछार्ने हो थाहा छैन’, एक लगानीकर्ताले भने, ‘बरु यतिबेला बैंकहरुको सेयर किन्दा नै ठीक होला।’ 

उनीसँगै बसेका अर्का लगानीकर्ता भने बजार धेरै बढेको गुनासो गर्दै थिए। ‘मान्छेले बजार बढेको छैन–छैन भन्छन् ४०० रुपैयाँको सेयर १४०० रुपैयाँ पुगिसक्यो’, ती लगानीकर्ताले भने, ‘कुन बेला निकै गाह्रो अवस्था आउने हो, के भन्न सकिन्छ र।’

त्यत्तिकैमा सँगै बसेका अर्का लगानीकर्ताले भने, ‘२ घन्टामा ४ अर्ब कारोबार भइसक्यो, आज त कारोबार निकै होलाजस्तो छ।’ 

‘मान्छेहरु बजार बढेपछि बढेको बढ्यै गर्छ भन्छन्’, अर्का लगानीकर्ताले भने, ‘मेरो त २ वर्षको अनुभवले अब सेयर नकिन्दा हुन्छ। कोही सेयर बेचेर पैसा झोलामा हालेर बस्छ, आफू चाहिँ चिन्ता बोकेर बस्नुपर्ने हुन्छ।’

सँगै बसेका एक लगानीकर्ताले अब राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले च्याप्न पनि सक्ने बताए। उनले भने, ‘प्राथमिक बजार त ठिकै हो, देस्रो बजार भने जोखिम हुन सक्छ। सस्ता–सस्ता किने त ठिकै हो, नत्र त गाह्रो पर्न सक्छ।’

‘अघिल्लोपटकको बुलमा सेयर किनेर कुर्दा–कुर्दा हैरान भइयो’, अर्का लगानीकर्ताले भने, ‘यो बजार कसैले जान्दैन। यहाँ कसैले जान्दैनन्। ५० हजारको सेयर ६० हजार पनि हुन सक्छ वा ४० हजार पनि हुन्छ।’

सोही ब्रोकर हाउसमा एक लगानीकर्ताले भने ननलाइफको बढाइ टिक्ने खालको नरहेको तर्क गरे। ‘यहाँ लकले पनि सहयोग गर्नुपर्छ’, भाग्यप्रति विश्वास गर्दै उनले भने, ‘मैले ६ हजार नाफा खाएर बेचेँ, अहिले बढ्यो।’

अर्का लगानीकर्ताले सुर्ती पड्काउँदै भने, ‘अस्ति एउटा मिडियाले फोटैसमेत छापेछ कतै पत्रकार त छैनन् ?’

सँगै बसेका एक लगानीकर्ताले भने, ‘मास्क लगाएर बस, बेलुका फोटो नै आउला।’

केही समयको बसाइपछि हामी कमलादीमै रहेको प्रज्ञान सेक्युरिटिज स्टक ब्रोकर नंं. १० मा पुग्यौँ। त्यहाँ पनि लगानीकर्ता ननलाइफकै चर्चा गरिरहेका थिए। लगानीकर्ता कोही आफ्नो मोबाइलमा त कोही ल्यापटपमा बजार हेर्दै मस्त थिए। 

त्यत्तिकैमा एक लगानीकर्ताले भने, ‘यो अप्परको मूल्य त धेरै भयो।’

सँगै बसेका अर्का लगानीकर्ताले थपे, ‘अब बिजुली झर्लक्क बल्दा त हजार माथि होला। त्यही बेला हामीले पनि सर्लक्क पार्नुपर्छ।’

उनीहरुसँगै बसेकी महिला लगानीकर्ताले भनिन्, ‘मैले त नबिल र निकाको किनेर बसेकी छु तर फाइदा छैन। त्यो निल किनेको अझै घाटा छ।’
सँगै बसेका पुरुष लगानीकर्ताले भने, ‘नेपाल रिइन्सुरेन्स किन्नुस्, बढ्ने नै हो, घट्न मानेको छैन।’

त्यहाँबाट हामी कमलादीस्थित दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड  सेक्युरिटिज स्टक ब्रोकर नं. ३३ पुग्यौँ। त्यहाँ केही नाम चलेका कलाकार पनि सेयर किनबेचका लागि आएका थिए। लामो समयपछि आएकोले केही थाहा नभएको भन्दै ब्रोकरसँग गलफत्ती गर्दै ती कलाकारले सोध्दै थिए, ‘किन बढेको हो बजार दिनदिनै ?’