काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंक लिमीटेडको तेस्रो वार्षिक साधारणसभा पुस २८ गते शुक्रबारका दिन रुपन्देही व्यापार संघको सभाहल, बुटवलमा सम्पन्न भएको छ । 

बैंक सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्यको अध्यक्षतामा बसेको सभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७३/०७४ को लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफानोक्सान हिसाव, नगद प्रवाह तथा अन्य वित्तीय विवरण पारित गरेको छ । 

साथै, सभाले संस्थाको नाम परिवर्तन लगायत प्रबन्धपत्र तथा नियमावलीका विभिन्न दफा, उपदफा संशोेधनको विशेष प्रस्ताव समेत पारित गरेको छ । बैंकको वित्तीय विवरण अनुसार आ.व. २०७३/०७४ मा बैंकले  २२ करोड २४ लाख ९७ हजार सञ्चालन मुनाफा(कर तथा वोनस अघिको) गर्न सफल भएको छ । यस राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकमा नेपाल सरकार, नेपाल राष्ट्र बैंक, अन्य बैंक तथा वित्तीय संस्थाहरु एवं सर्वसाधारणहरुको शेयर स्वामित्व रहेको छ । बैंकको चुक्तापुँजी हाल ६५ करोड ५० लाख रहेको छ ।

यस बैंकले चालु आर्थिक वर्ष २०७४/०७५ को असोज मसान्तसम्ममा ५७ जिल्लाका ३५६ स्थानिय निकायहरूमा १ सय ९४ वटा कार्यालयहरु स्थापना गरी २ लाख ११ हजार ४ सय ९१ ग्राहक सदस्य र १ लाख ३५ हजार ४ सय ५२ ऋणि सदस्यहरुलाई विभिन्न प्रकारका लघुकर्जा प्रदान गरी उनीहरुको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न मद्धत गरिरहेको छ । २०७४ आषाढ मसान्तसम्म यस बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा रु. ७ अर्ब ७२ करोड २९ लाख ६९ हजार र बचत परिचालन रु. २ अर्ब २५ करोड ५८ लाख ३७ हजार रहेकोमा चालु आ.व.को २०७४ असोज मसान्तसम्ममा बैंकको कुल लगानीमा रहेको बाँकी कर्जा ८ अर्ब ४ करोड २० लाख ३७ हजार र बचत रकम रु. २ अर्ब ३६ करोड ४८ लाख ५४ हजार पुगेको छ ।

बैंकले लक्षित वर्गका महिला सदस्यहरुलाई समूहमा आवद्ध गराई लघु व्यवसाय तथा लघुउद्यम परियोजनाहरु सञ्चालन गरी स्व–रोजगारीको अवसर सृजना गर्न विना धितो सामूहिक जमानीमा लघु कर्जा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले अनुशासित, परिश्रमी र इमान्दार ग्राहक सदस्यहरुलाई  राहत कार्यक्रम अन्तर्गत आ.व. २०७३/०७४ को अवधिमा प्रसुती खर्च बापत ८८१ जना,  किरिया खर्च बापत ३०६ जना, पुर्नस्थापना खर्च बापत २१४ जना, सदस्यको मृत्यु भएमा प्रदान गरिने कर्जा क्षतिपूर्ति बापत १४९ जना, औषधी उपचार खर्च बापत १२७ जनालाई आर्थिक सहयोग प्रदान गरेको छ भने ग्राहक सदस्यका ३९ जना छोराछोरीहरुलाई शैक्षिक प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको छ ।

उक्त साधारण सभामा शेयरधनीहरुका विभिन्न जिज्ञासाका सम्बन्धमा सञ्चालक समितिका अध्यक्ष माणिकरत्न शाक्य र बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले जवाफ दिएका थिए । यस क्रममा अध्यक्ष शाक्यले  बैंकले शेयरधनी एवं ग्राहक सदस्यको हित संरक्षण र सम्वद्र्धन गर्दै विपन्न वर्गका महिलाहरुलाई समूहमा आवद्ध गराई कृषि, उद्योग र सेवा व्यवसाय लगायतका परियोजनाहरु संचालन गर्न सामूहिक जमानीमा वित्तीय स्रोत उपलब्ध गराई उनीहरुको आर्थिक एवं सामाजिक अवस्थामा सुधार ल्याउन सहयोग गरेर नेपाल सरकारको गरिबी निवारण कार्यक्रमलाई सहयोग गरी राष्ट्रिय दायित्व समेत निर्वाह गरेको बताए।

प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले मर्जर पश्चात बैंकको समग्र वित्तीय अवस्थामा उल्लेखनीय सुधार भईरहेको र आगामी दिनमा कार्यक्रम नपुगेका थप जिल्लाहरुमा नियमन व्यवस्था अनुरुप शाखा स्थापना गरी आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्ने, निस्क्रिय कर्जा असुली कार्यलाई उच्च प्राथमिकता दिने, समूह सदस्यहरूलाई तालिम गोष्ठी अवलोकन, भ्रमणमा बढीभन्दा बढी सहभागी गराइने,  बैंकको नीति नियमको परिधिभित्र रहेर ग्राहक सदस्यहरूलाई विभिन्न राहात प्रदान गर्ने, ग्राहक सदस्यहरूको सीप विकासमा सघाउ पुर्याउने लगायतका कार्य प्रभावकारी रुपमा गरिने बताए ।