काठमाण्डौ । नेपाल ग्रामीण विकास बैंकको नाफामा ठूलै पहिरो गएको छ । चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकको नाफा ९ करोड ७९ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा १८ करोड ३ लाखको उचाईमा थियो । 

बैंकको खूद ब्याज आम्दानी, संचालन नाफामा समेत उस्तै पहिरो गएको छ । अघिल्लो वर्ष ५० करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष ४० करोड ३५ लाख सीमित भएको छ । यस्तै, २८ करोड ३० लाखको उचाईमा रहेको संचालन नाफा खिइएर १५ करोड ३८ लाखमा सीमित बन्न पुुगेको छ । 

समीक्षा अवधिमा बैंकले निक्षेप संकलनमा कमालको प्रगति गरेको छ भने कर्जा बिस्तारमा भने सामान्य मात्र प्रगति गरेको छ । अघिल्लो वर्ष २ अर्ब २ करोड निक्षेप संकलन गरेकोमा यो वर्ष ५ अर्ब ४८ करोड निक्षेप संकलन गरेको छ । यस्तै, ४ अर्ब ८३ करोड सापटी लिई ८ अर्ब १२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष ४ अर्ब ३९ करोड सापटी लिई ७ अर्ब ११ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकमा निस्क्रिय कर्जा थप थुप्रिएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ४.२९ प्रतिशत रहेको यस्तो कर्जा बढेर ४.४९ प्रतिशतको उचाईमा पुुगेको छ । 

बैंकको रिजर्ब कोष भने थप बलियो भएको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म १९ करोड २३ लाख रहेको कोषमा समीक्षा अवधिसम्म २३ करोड ८१ लख जम्मा भएको छ । 

५५ करोड ७५ लाख रहेको चुक्तापूँजी बढेर ६५ करोड ५० लाख पुुगे पनि नाफा भने घट्दा प्रतिसेयर आम्दानीमा पनि पहिरो गएको छ । अघिल्लो वर्ष ६४.७० रुपैयाँ रहेको इपीएस घटेर २९.९१ रुपैयाँ कायम भएको छ । प्रतिसेयर नेटवर्थ १३६.३६ र मूल्य आम्दानी अनुपात २२.२७ गुणा कायम भएको छ ।