काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा डोकेको छ।

संस्थाको गत साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो भदौ ५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित संस्थाको प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग आपसमा मर्जरको प्रक्रिया थाल्ने विशेष प्रस्तावलाई अनुमोदन गर्नेछ। यसका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ।

सोही सभाले संस्थापक समूहबाट २ जना र सर्वसाधारण समूहबाट २ जना गरी ४ जना सञ्चालक चयन गर्नेछ। 

सभा प्रयोजनका लागि संस्थाले साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ साउन २४ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्।