काठमाण्डौ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि ३२ लाख ५१ हजार ६५२ कित्ता आईपीओ निष्कासन गर्दैछ। आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा बीओके क्यापिटल मार्केट लिमिटेडले लिएको छ।

ग्रीनलाइफ हाइड्रोपावरको साधारण सेयरको निष्कासन गर्नका लागि केयर रेटिङ नेपाल लिमिटेडले ‘केयर–एनपी बी प्लस (आईएस)’ रेटिङ प्रदान गरेको छ। आईपीओ यही माघ २३ देखि माघ २७ गतेसम्म खुल्ला रहनेछ। 

ग्रीनलाइफ हाइड्रोपावरले विभिन्न जलविद्युत आयोजनाहरुमा लगानी गर्ने उद्देश्य रहेको कम्पनी हो। आफ्नो उद्देश्यबमोजिम हाल यस कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिकामा बहने खानीखोला, हनापु खोला र नाप्के खोलाको पानी मिसाई ४० मेगावाट क्षमताको खानीखोला १ जलविद्युत आयोजनाबाट बिजुली उत्पादन गर्ने उद्देश्यसहित २०७८ वैशाखदेखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने गरी विद्युत खरिदबिक्री सम्झौता गरिसकेको छ। साथै, ४० मेगावाट क्षमताको जलविद्युत आयोजनामध्ये २५ मेगावाटको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने १५ मेगावाट क्षमताको विद्युत आयोजनाको आगामी १ वर्षभित्रमा उत्पादन प्रारम्भ हुनेछ। त्यस्तै प्रशारण लाइनको कार्य ७०% सम्पन्न भइसकेको छ। 

उक्त कम्पनीले सामुहिक लगानी कोष र कम्पनीको कर्मचारीलाई छुट्टाएको सम्पूर्ण सेयर बाँडफाँड भइसकेको छ। रु. २ अर्ब ५० करोड अधिकृत पुँजी रहेको कम्पनीको यो आईपीओ बिक्रीपछि चुक्तापुँजी रु. १ अर्ब ८० करोड रहनेछ। 

हाल प्राथमिक बजारमा आबेदन दिने लगानीकर्ताको आर्कषणले गर्दा बजारमा उच्च चाप रहेको र प्राथमिक सेयर आवेदकहरु धेरै हुने देखिएको छ। यसले गर्दा इच्छुक लगानीकर्ताले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो सेयरमार्फत आबेदन दिन सक्नेछन्।