काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ।

विश्व वित्तीय सप्ताहलाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ एनआईसी एशिया लघुवित्तले देशैभरि वित्तीय साक्षरतासम्बन्धी अभिमुखीकरण तथा र्‍याली कार्यक्रमको आयोजना गरेको हो।

संस्थासँग आबद्ध सदस्यहरु तथा लघुवित्तका कर्मचारीहरुको सहभागिता रहेका कार्यक्रहरु मधेश प्रदेशअन्तर्गतका  बर्दिबास, बट्टेश्वर, कल्याणपुर, कोशी प्रदेशअन्तर्गतका भद्रपुर र धाईजान, गण्डकी प्रदेशअन्तर्गतको क्यामिन (आबुखैरेनी), लुम्बिनी प्रदेशअन्तर्गतको महाराजगन्ज (डुमरा) तथा सुदूरपश्चिम प्रदेशअन्तर्गतको बहुनिया आदि स्थानहरुमा वित्तीय साक्षरता अभिमुखीकरणका साथै वित्तीय साक्षरता झल्काउने नाराहरुको प्लेकार्डसहितको र्‍याली कार्यक्रम सञ्चालन भएका हुन्। जसबाट समुदायस्तरमा रहेका सदस्यहरुलाई वित्तीय कारोबार, दैनिक आम्दानी तथा खर्चको विश्लेषण गर्न, बचत गर्ने बानी, कर्जाको सही सदुपयोग, वित्तीय सेवासम्बन्धी ज्ञान, व्यवसाय व्यवस्थापन, बीमा, विप्रेषणजस्ता कुराहरुमा चेतना वृद्धि भई आर्थिक व्यवस्थापनमा सहज हुने विश्वास संस्थाले लिएको छ।

“साथी सँगै सबल बन्दै” भन्ने मूल नाराका साथ उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्त देशकै सबैभन्दा ठूलो शाखा सञ्जाल र देशकै एक ठूलो सबल सक्षम एवं विश्वसनीय लघुवित्त वित्तीय संस्थाका रुपमा स्थापित भइरहेको छ।

त्यस्तै उत्तरदायी लघुवित्तीय सेवाको अभ्यास गर्दै आएको एनआईसी एशिया लघुवित्तले वित्तीय समावेशीकरणका लागि डोटी, जुम्ला, दार्चुला, जाजरकोट, बैतडी, अछाम, बजाङ, सल्यान, रसुवा, सिन्धुपाल्चोकजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेको दुर्गम जिल्लाहरुसहित नेपालभरि आफ्ना २८७ शाखामार्फत २ लाखभन्दा बढी न्यून आय भएका तथा साना तथा मझौला उद्यमी सदस्यलाई गुणस्तरीय वित्तीय सेवा तथा गैरवित्तीय सेवा उपलब्ध गराउँदै आएको र आगामी दिनहरुमा पनि सोहीअनुरुप कार्य गर्ने प्रतिबद्धता जनाएको छ।