काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्वीजिसन) गर्ने भएको छ । 

असोज २० गते साँझ ६ः३० बजे दुवै वित्तीय संस्थाका अधिकारीहरुबीच गाभ्ने गाभिने सम्झौतामा हस्ताक्षर भएको छ । 

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको असोज २० गते नै बसेको सञ्चालक समितिको ११८ औं वैठकबाट गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुर अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था लिमीटेडबाट प्राप्ति (एक्विजिसन) गर्नका लागि आएको प्रस्ताव स्वीकार गर्ने निर्णयपछि गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । 

स्पर्श लघुवित्त प्राप्ति गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुने, कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरीय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भई संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने  विश्लेषणका आधारमा स्पर्शलाई प्राप्ति गर्न खोजिएको ग्लोबल आइएमई लघुवित्तले जनाएको छ । 

गण्डकी प्रदेश, लमजुङ जिल्ला बेसिशहर  नगरपालिका वडा नं.८ बेसिशहरमा रजिष्टर्ड कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं. ११०४५५/२०६९/०७० फाल्गुण २४  गते विधिवत दर्ता भई नेपाल राष्ट्र बैंकबाट २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पत्र प्राप्त गरी मिति २०७० जेठ ५ गतेबाट  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट काम गरी आएको लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष बुद्धि अकेला  र गण्डकी प्रदेश, कास्की जिल्ला  पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रीय कार्यालय रही आएको, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नं.१६३८७९/२०७३/०७४ मिति २०७३ फागुन ४ गते विधिवत दर्ता भई नेपाल राष्ट्र बैंकबाट मिति २०७४ असार २३ गते ‘घ’ वर्गको इजाजत पत्र प्राप्त गरी २०७४ असार २९ गतेदेखि कारोवार सञ्चालन गरेको स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष प्रा.डा.सुशिलभक्त माथेले सहमति पत्रमा हस्ताक्षर गरेका ग्लोबल आइएमई लघुवित्तका प्रमुख कार्यकारी अधिकृत किरण कुँवरले जनाएका छन् ।