काठमाण्डौ । देशकै ठूलो बैंक, ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ४०.५८ प्रतिशतले बढी हो । 

खूद नाफातर्फ राम्रै प्रगति गरेको बैंकको यो अवधिमा बाँड्नमिल्ने नाफा भने २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको छ। कोभिडका कारण निकै ठूलो आकारमा नाफा भएको रकम प्रभिजन गर्नुपर्दा यस्तो अवस्था सिर्जना भएको हो । 

बैंकले १ अर्ब ४ करोडमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब ४७ करोडको उचाई चुमाएको छ भने १ अर्ब ५६ करोडमा सीमित खूद ब्याज आम्दानीलाई समेत बढाएर २ अर्ब ५९ करोडको उचाई चुमाएको छ । साबिकको जनता बैंकलाई गाभेपछि यो बैंकको व्यवसायको आकार बढी खूद ब्याज आम्दानीतर्फ ६५.७५ प्रतिशतको प्रगति भएको देखिएको हो । 

समीक्षा अवधिमा ग्लोबल आइएमई बैंकले २ खर्ब २४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब १२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब बढी कर्जा परिचालन गरेको थियो । 

समीक्षा अवधिमा बैंकको रिजर्बको आकार बढेर ९ अर्ब २६ करोडको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा रिजर्बको कआकार ८ अर्ब ४१ करोडमा सीमित थियो । 

करिब १९ अर्ब चुक्तापूँजी रहेको बैंकको समीक्षा अवधिका लागि वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) २२ रुपैयाँ ३२ पैसामा सीमित भएको छ ।

अघिल्लो वर्षको यही अवधिमा इपीएस २८ रुपैयाँ ८७ पैसा थियो । यसरी कोभिडका कारण बैंकको इपीएसमा २२.६८ प्रतिशतको गिरावट आएको देखिएको छ । 

अघिल्लो वर्षको यही अवधिसम्म ०.८५ प्रतिशत रहेको निस्क्रिय कर्जाको अनुपात बढेर १.८३ प्रतिशत पुगेको छ भने यो अवधिमा बैंकको सीडी रेसियो ७२.५२ प्रतिशतमा सीमित बन्न पुगेको छ । यो अनुपात ८५ प्रतिशतसम्म हुँदा लगानी गर्न पाइने भए पनि कोभिडका कारण लगानीको क्षेत्र खुम्चिँदा बैंकको वित्तीय विवरणमा प्रभाव परेको देखिन्छ । 

समीक्षा अवधिमा बैंकको पीई रेसियो  १२.१९ गुणा, प्रतिसेयर नेटवर्थ १५८.५९ रुपैयाँ र तरलता अनुपात २७.२७ प्रतिशत रहेको छ ।