काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आफ्ना सेयरधनीलाई १५.७६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । 

सोमबार राजधानीमा सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट घोषित बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको हो । 

यो प्रस्ताव पारित भएसँगै बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी ७ अर्ब २४ करोड २६ लाख रुपैयाँको उचाईमा पुुग्नेछ । 

यसैबीच, साधारणसभाबाट संस्थापक र सर्वसाधारण सेयरधनीको तर्फबाट संचालक समितिका सदस्यहरुको समेत चयन भएको छ । जस अनुसार संस्थापक शेयरधनी समूहबाट चन्द्रप्रसाद ढकाल, सुहृदराज घिमिरे, पवनकुमार भिमसरिया र सर्वसाधारण शेयरधनीको तर्फबाट सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, सुरजकुमार श्रेष्ठलाई संचालकमा निर्विरोधरुपमा निर्वाचित गरेको छ । 

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आएको छ । ८७ अर्ब निक्षेप, ७२ अर्ब कर्जा लगानी रहेको बैंकको हाल ९४ वटा शाखाहरु, १० वटा राजश्व संकलन काउण्टर, १ वटा सिडिएससि काउण्टर, १०६ एटिएम, ६ वटा एक्सटेन्सन काउण्टर तथा ४४ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।  त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।