काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले जारी गरेको ३ अर्ब रुपैयाँबराबरको डिबेन्चर ओभरसब्सक्राइब्ड भएको छ।

बैंकले गत चैत १ गतेदेखि ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ निष्कासन गरेको थियो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गरेको हो। 

यो ऋणपत्रमा चैत १६ गतेसम्म आवेदन खुला गरिएको थियो। ऋणपत्रमा न्यूनतम २५ इकाइदेखि अधिकतम १० लाख इकाइसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । लगानीकर्ताले ‘मेरो सेयर’ मार्फत अनलाइन र नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू एवं तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन पाउने व्यवस्था रहेको थियो।

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सेञ्चुरी क्यापिटल मार्केट्स लिमिटेड रहेको थियो। 

लगानीकर्ताले १० वर्षे अवधिको यो ऋणपत्रमा वार्षिक ८.५ प्रतिशत ब्याजदर पाउनेछन्। ब्याजको भुक्तानी अर्धवार्षिक रुपमा हुने बैंकले जनाएको छ।