काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारणसभाले रिलायबल डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

बैंकको शुक्रबार काठमाण्डौ सम्पन्न विशेष साधारणसभाले एक्वीजिसन सम्बन्धी सो प्रस्ताव पारित गरेको हो । 

बिगत ११ वर्षदेखि बैंकिङ्ग कारोबार गर्दै आएको रिलायबल डेभलपमेन्ट बैंकको चुँक्तापूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ । 

सभाले रिलायबल डेभलपमेन्ट बैंक लिमीटेडको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लिमीटेडको ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको प्रस्ताव पारित गरेको बैंकले जनाएको छ । 

रिलायवलको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ्ग सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढी पुग्नेछ । 

असार मसान्तभित्रमा दुवै बैंकबीच एकीकृत बित्तीय कारोबार थाल्ने तयारी अगाडि बढेको ग्लोबल आइएमई बैंकले जनाएको छ ।