काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका

व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक कार्यालय प्रमुख विष्णु अर्यालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

उक्त समझदारीअनुसार ग्लोबल आइएमई बैंकले मन्त्रालयले स्वीकृत गरेको ‘व्यावसायिक कृषि तथा पशुपन्छी पालन व्यवसायका लागि ब्याज अनुदान कार्यविधि, २०७६’ अनुरुप कर्णाली प्रदेशका व्यावसायिक कृषकका लागि ब्याज अनुदान कार्यक्रम सञ्चालन र सोसम्बन्धी व्यवसाय विकासमार्फत कृषरुको रोजगारीमा वृद्धि गरी उनीहरुको जीवनस्थरमा सुधार गर्ने उद्देश्यले सहुलियपूर्ण कृषि कर्जा उपलब्ध गराउनेछ। यस ब्याज अनुदान कार्यक्रम सञ्चालनका लागि नेपाल राष्ट्र बैंक, कर्णाली प्रदेशले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ। 

आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले सरकारसँग समन्वय गरी यस्ता कार्यक्रमहरु ल्याएर ग्राहकलाई लाभावान्भित गर्दै आएको छ। 

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।