काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडको '८.५% ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७' ऋणपत्रको ३० लाख इकाइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। 

१० वर्ष अवधि रहेको यस ऋणपत्रमा बार्षिक ८.५० प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको ६/६ महिनामा ब्याज प्रदान गरिनेछ। यस ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले (इक्रा–आईआर) एलए रेटिङ प्रदान गरेकोे छ। यस रेटिङले ऋणपत्रमा गरिएको लगानीमा जोखिम अत्यन्तै न्यून रहेको जनाउँदछ। 

ग्लोबल आईएमई बैंक लिमिटेडको रेटिङलाई पनि रेटिङ एजेन्सी इक्रा नेपालले हालै (‘इक्रा–आईआर) ए माइनस’ बाट ‘(इक्रा–आईआर) ए’ मा स्तरवृद्धि गरेको थियो। 

बैंकको पर्याप्त तरलता तथा पुँजी कोष, कर्जाको गुणस्तर तथा मिश्रण, बृहत कार्यालय सञ्जाल, स्वस्थ ब्याज आम्दानी तथा आय विवरण, संचालन खर्चमा नियन्त्रण, कुशल जोखिम व्यवस्थापन अभ्यास, बलियो प्रवर्द्धक समूह, अनुभवी बोर्ड तथा व्यवस्थापन नेतृत्व आदिजस्ता तथ्यका आधारमा ग्लोबल आइएमई बैंक तथा यसले जारी गरेका ऋणपत्रको रेटिङमा स्तरवृद्धि भएको हो।

ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुकबाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २५० एटीएम, २५७ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङलगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।