काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

समीक्षा अवधिमा संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २००.११ प्रतिशतले उकालो लागेको छ। गत वर्ष १ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा बढेर ५ करोड ५३ लाख रुपैयाँ पुगेको छ। 

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १३.४९ प्रतिशतले बढेर ३ करोड ३१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा २ करोड ९२ लाख रुपैयाँ रहेको थियो। 

संस्थाको खुद ब्याज आम्दानी पनि १०१.७७ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा ७ करोड १९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा बढेर १४ करोड ५१ लाख रुपैयाँ पुगेको छ।

संस्थाले ४ अर्ब २९ करोड रुपैयाँ सापटी लिई ७ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ४४ करोड रुपैयाँ सापटी लिई ४ अर्ब रुपैयाँ बढी कर्जा परिचालन गरेको छ। 

चुक्तापुँजी ४३ करोड १७ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार ७७.१४ प्रतिशतले बढेर ४० करोड ३ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा २२ करोड ५९ लाख रुपैयाँ रहेको थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ५१.२७ रुपैयाँ पुगेको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ४४.१८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १९२.७३ रुपैयाँ रहेको छ।