काठमाण्डौ । दुुई वाणिज्य बैंकले नेपालमै पहिलोपटक भाइबर बैकिङ सेवा सुरु गरेका छन् । 

ग्लोबल आइएमई बैंक र नवील बैंक लिमीटेडले देशमै पहिलोपटक भाइबरमार्फत बैकिंग सेवाको सुरुवात गरेका हुन् । 

दुवै बैंकले छुट्टा छुट्टै विज्ञप्ति जारी गर्दै देशमै पहिलोपटक भाइबर बैकिंग सेवा आफूहरुले सुरु गरेको दाबी गरेका हुन् । 

ग्लोबल आइएमई बैंकले जारी गरेको विज्ञप्ति अनुसार भाइबर बैंकिङ सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइल, ल्यापटप, ट्याबलेट, कम्प्युटर लगायतबाट बैंकिङ सेवाको जानकारी लिन सकिनेछ । यो सेवा लिनको लागि ग्राहकको मोबाइल नम्बर ग्लोबल स्मार्ट मोबाईल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ ।

ग्लोबल स्मार्ट मोबाईल बैंकिङ सेवामा रजिष्टर गरिएको मोबाईलका प्रयोगकर्ता  ग्राहकले भाईबर बैंकिङ मार्फत खातामा रहेको रकम तथा अन्य विवरण हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायत बैंकका अन्य सेवाको बारेमा जानकारी लिनसक्ने सुविधा समेत पाउनेछन् ।

उता, नबिल बैंकले पनि नबिल भाईबर बैंकिङ्ग सेवाको सुरुवात गरिएको विज्ञप्तिमार्फत जनाएको छ । नबिल भाईबर बैंकिङ्ग सेवा मार्फत बैंकका ग्राहकहरुले आफ्नो खाताको मौज्दात चेक गर्न, कारोबारको विवरण लगायत अन्य विवरणको साथै विनिमय दर÷ब्याजदर आदिको बिषयमा आवश्यक सूचना पाउनसक्नेछन् । 

बैंकका अनुसार यो सेवा लिने ग्राहकले भाइबरमार्फत नै बैंकबाट प्रेषित सूचनाहरु, बैंकका शाखा तथा एटिएम, बैंकिङ्ग समय तथा बैंकका सेवाको बिषयमा आवश्यक जानकारी समेत पाउनेछन् । यो सेवामा आबद्धताका लागि बैंकका ग्राहकहरु स्वयंले भाईबरमा उपलब्ध नबिल बैंकको सार्वजनिक खाता ‘नविल बैंक’मा दर्ता हुनुपर्नेछ । बैंकले डिजिटल बैंकिङ्ग क्षेत्रमा नयाँ आयाम थप्दै सुरु गरिएको नबिल भाईबर सेवा बैंकिङ्ग सेवाहरुलाई प्रोत्साहन गर्दै नयाँ उचाईमा पुर्याउन कोशेढुंगा बन्ने दाबी गरेको छ ।