काठमाण्डौ । ग्लोबल आइएमई बैंकको आज सम्पन्न १६ औँ वार्षिक साधारणसभाबाट बैंक अफ काठमाण्डू (बीओके)सँगको मर्जर प्रक्रियालाई स्वीकृत भएको छ। 

काठमाण्डौको गैह्ररीधारास्थित सिल्भर ओक बैंक्वेज एन्ड इभेन्ट्स सेन्टरसमा भएको वार्षिक साधारणसभाले बीओकेसँगको मर्जर प्रक्रियालाई स्वीकृत गरेको छ। 

सभाले ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ। सभाले मर्जर प्रयोजनका लागि डीडीएका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ स्वीकृत गरेको छ। सभाले दुवै बैंकबीचको मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गरेको छ। 

अबको १–५ दिनभित्रै राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्वीकृति लिइने सभामा जानकारी दिइएको छ। त्यसपछि पुस १८ गतेदेखि पुस २५ गतेभित्र एकीकृत कारोबार सुरु गरिने जानकारी पनि सभामा दिइएको छ। 

सोही सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७८–७९को मुनाफासमेतबाट चुक्तापुँजीको ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश करसहित) स्वीकृत गरेको छ। सोही हदसम्म जारी पुँजी तथा चुक्तापुँजी वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन भएको छ। 

सभाले बैंकको अधिकृत पुँजी २५ अर्ब रुपैयाँलाई वृद्धि गरी ५० अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ। 

बैंकले आर्थिक वर्ष २०७८–७९ मा सञ्चालन मुनाफा ७ अर्ब १८ करोड रुपैयाँ र कर पछिको मुनाफा ४ अर्ब ९५ करोड रुपैयाँ आर्जन गरेको थियो। प्रस्तावित बोनस सेयर वितरणपश्चात बैंकको चुक्तापुँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ। 

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालना गर्दै आफ्ना सेयरधनीहरुलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए। उनले बैंकले आगामि दिनमा आफ्नो व्यावसायिक रणनीतिक योजनाअनुरुप व्यवसाय विस्तारका अन्य क्षेत्रमा समेत सन्तुलित वृद्धि गर्दै जाने बताए। 
यसका साथसाथै अध्यक्ष ढकालले सेयरधनीको आकांक्षाअनुरुप आगामी दिनमा उच्च लाभांश प्रदान गर्न बैंक प्रयासरत रहेकोसमेत बताए। 

आर्थिक वर्ष २०७८–७९ मा बैंकको खुद व्याज आम्दानीतर्फ गत वर्षभन्दा १ अर्ब १५ करोड रुपैयाँले वृद्धि भएको छ। बैंकको खुद मुनाफामा गत वर्षको तुलनामा १२.५९ प्रतिशतले वृद्धि भई ४ अर्ब ९५ करोड रुपैयाँ कायम भएको छ। हाल बैंकले २ खर्ब ८९ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७३ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ। 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। देशका ७७ वटै जिल्लामा २९२ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८९० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ। बैंकमा ३ हजारभन्दा बढी कर्मचारी कार्यरत रहेका छन्। बैंकले करिब ३० लाख ग्राहकलाई प्रत्यक्ष सेवा प्रदान गर्दै आएको छ।