काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सामान्य प्रगति भएको वित्तीय विवरण पस्किएको छ । बैंकले बिहीबार आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्मको वित्तीय विवरण नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड(एनएफआरएस) पस्किएको हो, जहाँ उसको नाफामा झिनो मात्र प्रगति भएको देखिएको छ भने बाँकी सूचकहरुमा समेत सामान्य मात्र प्रगति भएको छ । 

समीक्षा अवधिमा बैंक २ अर्ब १५ करोड खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा २ अर्ब ६१ लाखमा सीमित थियो । यो हिसाबले खूद नाफा तर्फ बैंकले ७.५० प्रतिशतको मात्र प्रगति गरेको देखिएको छ । 

बैंकको व्यवसाय बिस्तार औसत रहँदा खूद ब्याज आम्दानीतर्फ पनि ७.३२ प्रतिशतको मात्र प्रगति देखिएको छ । अघिल्लो वर्ष ३ अर्ब ५६ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष ३ अर्ब ८२ करोडको उचाईमा पुगेको हो । 

समीक्षा अवधिमा बैंक कर्जाभन्दा निक्षेप परिचालनमा कमजोर देखिएको छ । निक्षेप संकलनमा ४.५१ प्रतिशतको मात्र प्रगति गरेको बैंकले कर्जातर्फ भने १५.५३ प्रतिशतको वृद्धि गरेको देखिएको छ । बैंकले समीक्षा अवधिमा १ खर्ब ६ अर्ब बढीको निक्षेप संकलन गरी ९३ अर्ब ३७ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १ खर्ब १ अर्ब निक्षेप संकलन गरी ८० अर्ब ८१ करोड बढीको कर्जा परिचालन गरेको थियो ।

बैंकको अघिल्लो वर्ष १ अर्ब ९४ करोड रहेको संचालन नाफा बढेर २ अर्ब २५ करोड पुगेको छ । 

बैंकको जगेडाकोषतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष २ अर्ब ४१ करोडमा सीमित जगेडाकोषको आकार बढी ४ अर्ब ५७ करोडको उचाईमा पुगेको छ । यसरी जगेडाकोषतर्फ ८९.२५ प्रतिशतको प्रगति भएको देखिएको छ ।

समीक्षा अवधिमा बैंकले खराब कर्जाको अनुपातलाई घटाएको छ । अघिल्लो वर्ष १.६० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा अनुपात घटेर ०.६९ प्रतिशतमा घटेको छ । 

अघिल्लो वर्ष २२.५७ रुपैयाँमा सीमित प्रतिसेयर आम्दानी बढेर २४.२६ रुपैयाँको उचाईमा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५१.४५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.९५ गुणा कायम भएको छ । 

बैंकको कुल तुलनात्मक आम्दानी भने घटेको छ । अघिल्लो वर्ष १ अर्ब ९० करोड रहेको आम्दानी घटेर १ अर्ब ७९ करोडमा सीमित बन्न पुगेको देखिएको छ ।