काठमाण्डौ । ग्लोबल आइएमई बैंकसँग एक्विजिसन प्रक्रियामा रहेको हाथवे फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खासै प्रगति गर्न नसकेको देखिएको छ । 

चौथो त्रैमास वितरणअनुसार आर्थिक वर्ष २०७५/७६ मा संस्थाको खुद नाफा ५६.१६ प्रतिशतले घटेको छ । संस्थाले खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा तीन करोड १८ लाख रुपैयाँले घटेको हो ।

संस्थाले समीक्षा अवधिमा खुद नाफा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जब कि अघिल्लो वर्षको यही अवधिमा संस्थाले ५ करोड ६६ लाख खुद नाफा आर्जन गरेको थियो । 

समीक्षा अवधिमा संस्थाले खुद ब्याज आम्दानी पनि घटेको छ । खुद ब्याज आम्दानीबाट अघिल्लो वर्ष ३ करोड ३८ लाख रुपैयाँ कमाएको संस्थाले यो २ करोड ६३ लाख रुपैयाँ कमाएको छ । यसले संस्थाले व्यवसाय विस्तार कमजोर देखाएको छ । 

समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा १ करोड ८१ लाख रुपैयाँमा सीमित थियो । 

समीक्षा अवधिमा संस्थाले सम्भावित नोक्सानीका लागि २८ लाख ७८ हजार रुपैयाँ छुट्याएको छ । यो अघिल्लो वर्ष २२ लाख ६१ हजार रुपैयाँ रहेको थियो । 

चौथो त्रैमास वितरणमा सापटी रकम नदेखाइए पनि संस्थाले समीक्षा अवधिमा ३४ करोड ७३ लाख रुपैयाँ ऋण प्रवाह गरिएको देखाइएको छ । अघिल्लो वर्ष संस्थाले यही अवधिमा २८ करोड २९ लाख रुपैयाँ ऋण प्रवाह गरेको थियो । 

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्ष पनि संस्थाको चुक्ता पुँजी ३० करोड रुपैयाँ नै थियो ।

संस्थाले जगेडा कोषमा अघिल्लो वर्षको तुलनामा ३.४८ प्रतिशतले घटाएको छ । अघिल्लो वर्ष ७ करोड ९२ लाख रुपैयाँ जगेडा कोष रहेको संस्थाको समीक्षा अवधिमा ७ करोड ६४ लाख रुपैयाँमा झरेको छ । 

संस्थाको प्रतिसेयर आम्दानी ८.२८ रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात १३.७६, प्रतिसेयर नेटवर्थ रु ७४.५२ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य रु २०३.६४ रहेको छ । 

यो संस्थालाई ग्लोबल आईएमई बैंकले गत वर्ष फागुन ३० गते प्राप्ति गर्ने सम्झौता गरेको थियो । जसअनुसार हिजो साउन १४ गते दुवै संस्थाले विशेष साधारणसभा आयोजना गरेका छन्।