काठमाण्डौ । ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति(एक्विजिशन) गरी बुधबारदेखि एकिकृत वित्तीय कारोबार सुरु गरेको छ ।

धरानमा बुधबार आयोजित एक समारोहमा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले एकिकृत वित्तीय कारोबारको औपचारिक शुभारम्भ गरिन् ।

कार्यक्रममा बोल्दै मेयर भण्डारीले बैंकहरु एकिकृत भई सबल हुँदा मुलुकको आर्थिक विकासमा सकारात्मक प्रभाव पर्ने बताइन् । बैंक मर्जरमा गएर व्यवस्थित र बलियो बन्दै देशभर शाखा विस्तार हुँदा जनतालाई वित्तीय कारोबार गर्न सहज हुने बताउँदै उनले यसलाई सकारात्मक रुपमा लिन आग्रह गरिन् ।

नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय, विराटनगरका निर्देशक रोशनकुमार सिग्देलले बैंकहरु जनताको पूँजीबाट सञ्चालन हुने भएकाले जनताको पूँजीको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरे । उनले बैंक तथा वित्तीय संस्थाको मर्जर तथा एक्विजिशनले जनताको पूँजीलाई सदुपयोग गर्दै आर्थिक विकासमा सहयोग पुग्ने अपेक्षा गरे । उनले वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशनमा जाँदा कर्मचारीको काम गर्ने शैली तथा वातावरण फरक पर्ने हुनाले कर्मचारी व्यवस्थापन लगायतका पक्षहरुमा विशेष ध्यान दिनुपर्ने बताए ।

सो अवसरमा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशनका माध्यमबाट सबल र सक्षम वित्तीय संस्था बनाउने नीति अनुरुप ग्लोबल आइएमई बैंकले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति (एक्विजिशन) गरेको बताए ।

उनले बैंकले विभिन्न समयमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर तथा एक्विजिशन गर्दै बैंक सबल बन्दै अगाडि बढ्दै गइरहेको र हालै मात्र जनता बैंक नेपाल लिमीटेडसँग मर्जरको समझदारीपत्रमा हस्ताक्षर भई मर्जरलाई छिटोभन्दा छिटो सम्पन्न गराउन लागिरहेको बताए ।

कार्यक्रममा हाथवे फाइनान्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्राप्ति पश्चात शेयर होल्डर तथा कर्मचारीले उचित सम्मान पाउने वचन दिए ।

हाथवे फाइनान्सको प्राप्तिपछि ग्लोबल आइएमई बैंकको चुक्तापूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुगेको छ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४५, कूल निक्षेप रु. १२७ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११९ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या ११ लाख भन्दा बढी पुगेको छ ।