काठमाण्डौ । उपयुक्त अन्य लुघवित्त संस्थासँग मर्जर र लाभांश वितरणको प्रमुख अजेन्डासहित ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ ।

संस्थाको हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर ९ गते लमजुङको बेसीसहरस्थित गेट वे हिमालयन रिसोर्टमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने भनी प्रस्ताव गरिएको लाभांश पारित हुनेछ ।

गत आर्थिक वर्षको मुनाफाबाट संस्थाले आफ्ना सेयरधनीहरुलाई चुक्तपुँजी ११ करोड ४ लाख ५७ हजार ५०० रुपैयाँको ३५ प्रतिशतले हुना आउने ३ करोड ८६ लाख ६० हजार १२५ रुपैयाँबराबरको बोनस सेयर र बोनस सेयर वितरण गर्दा लाग्ने करबापतको २० लाख ३४ हजार ७४३.४२ रुपैयाँ नगद लाभांशका रुपमा वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी एक वा एकभन्दा बढी उपयुक्त लघुवित्तीय संस्थाहरु गाभ्ने तथा प्राप्ति गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान नर्गै, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोका आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्यांकन गर्न परामर्शदाता, मूल्यांकनकर्ता नियुक्त गर्नेलगायतका अजेन्डा पनि सभाले पारित गर्नेछ । यी सबै कार्य गर्न गराउन सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको सिफारिसबमोजिम १ः१ बराबरको हकप्रद सेयर जारी गर्ने मुख्य प्रस्ताव पनि पारित गर्नेछ ।

यीबाहेक सभाले संस्थाको वार्षिक, आर्थिकलगायतका महत्वपूर्ण प्रतिवेदन पनि पारित गर्नेछ ।