काठमाण्डौ । जनता बैंकलाई प्राप्ति गरेपछि निजी क्षेत्रको देशकै ठूलो वाणिज्य बैंकका रुपमा स्थापित ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा प्रगति गरेको छ।

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले २ अर्ब ७० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४४.३६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म बैंकको खुद नाफा १ अर्ब ८७ करोड रुपैयाँमा सीमित थियो।

मर्जर अवधिसम्म जनता बैंकले कमाएको नाफासमेत जोड्दा ग्लोबल आइएमई ​बैंकको खुद नाफा ३ अर्ब १५ करोड रुपैयाँ रहेको छ। जनता बैंकले मर्जपहिले ४५ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा ५७ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ। 

समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा ४३.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ६४ करोड रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ।

बैंकले खुद ब्याज आम्दानीमा पनि ६२.७८ प्रतिशतको छलाङ मार्न सफल भएको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिसम्म ३ अर्ब ६८ करोड रुपैयाँ खूद ब्याज आम्दानी गरेको देखिएको छ। 

समीक्षा अवधिमा बैंकले २ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो। 

समीक्षा अवधिमा बैंकको रिजर्भको आकार १७२.२० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म रिजर्भमा ३ अर्ब ३५ करोड रुपैयाँ रहेकोमा आकार बढेर समीक्षा अवधिसम्म ९ अर्ब १४ करोड रुपैयाँको उचाइमा पुगेको हो। 

बैंकको खराब कर्जाको अनुपात १.४४ प्रतिशत रहेको छ भने बेस रेट ९.४१ प्रतिशत रहेको छ। सीडी रेसियो भने ७९.६९ प्रतिशत कायम भएको छ। 

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २२.१६ रुपैयाँ रहेको छ। पीई रेसियो १२.५० गुणा रहेको छ।