काठमाण्डौ । बजार घटाउने सबैतिरको चलखेल र प्रयास सफल नभएसँगै नेप्से परिसूचकमा फेरि तीव्र बढोत्तरीको यात्रा सुरु भएको छ । लगानीकर्तामा उच्च मनोबल रहेका कारण नेप्से परिसूचक आज एकैदिन भारी अंकले बढेर २१ सय विन्दू नजिक पुगेको छ ।

साताको चौथो दिन आज बुधबार नेप्से परिसूचक ७०.६२ अंकले बढेर २०७१.०३ विन्दू कायम भएको हो ।

परिसूचक १८८१ विन्दू (अलटाइम हाई)लाई ब्रेक गरेपछि नेप्सेले ननस्टप २१ सय विन्दू सजिलै चुम्ने आम लगानीकर्ताहरुको मनोबल समेत बजार वृद्धिको प्रमुख कारक रहेको जानकारहरु बताउँछन् ।

हिजो मंगलबार परिसूचकमा झिनो वृद्धि भई बजार करेक्सन भएको र सो अवसर यसअघि नै सेयर बिक्री गरी बजार करेक्सन हुने आशामा रहेका लगानीकर्ताहरुले समेत हिजोदेखि सेयर आक्रामक खरिद गरिरहेकाले परिसूचकमा भारी वृद्धि भएको विश्लेषकहरु बताउँछन् ।

नेपाल टेलिकम, पुनर्बीमा कम्पनी र लघुवित्त कम्पनीका सेयरमूल्यमा उछाल आएपछि नेप्से परिसूचकमा त्यसको सोझो असर परेको देखिन्छ । बजारमा हँग्री इन्भेष्टरको बाहुल्यता बढ्दै गइरहेको यो बेला कतिपय कम्पनीका सेयर सर्किटमा कारोबार भइरहेको देखिन्छ भने कतिपय कम्पनीका सेयर बिक्री शून्य रहेको अवस्था छ । इण्डेक्स र कारोबार रकमको वृद्धिले समेत आगामी दिनमा बजार बढ्ने प्रशस्त आधारहरु तयार गरेको विश्लेषकहरु दाबी गरिरहेका छन् । 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटामा हरियाली छाएको छ भने एउटामात्रै रातो पोतिएको छ।

यो दिन जीवन बीमा समूह सर्वाधिक ६०८.७३ अंकले उकालो लागेको छ। उत्पादन तथा प्रशोधन समूहमा ३०३.१२ अंकको बढोत्तरी आएको आज बैंकिङ समूह ६.३८ अंक, होटेल्स् समूह ५१.१६ अंक, विकास बैंक समूह २२.५९ अंक, जलविद्युत् समूह ८८.९९ अंक, वित्त समूह ३.७६ अंक, निर्जीवन बीमा समूह २४४.८२ अंक, अन्य समूह १४०.८९ अंक, लघुवित्त समूह २३२.५६ अंक र म्युचुअल फन्ड समूह ०.०४ अंकले बढेका छन्।

आज व्यापार समूह १६.६३ अंकले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज २०१ कम्पनीका १ करोड ५४ लाख १६ हजार ३८३ कित्ता सेयर ७ अर्ब ३७ करोड ४० लाख १७ हजार ९२९ रुपैयाँमा किनबेच भएको छ।

यो दिन नेपाल टेलिकमको सर्वाधिक ४० करोड ७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल लाइफ इन्स्योरेन्सको ३० करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको आज नबिल बैंकको २२ करोड ८० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १५ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको १९ करोड ९८ लाख रुपैयाँ, नेको इन्सुरेन्सको १८ करोड ६७ लाख रुपैयाँ, नागरिक लगानी कोषको १६ करोड ३६ लाख रुपैयाँ, चिलिमे हाइड्रोपावरको १६ करोड २९ लाख रुपैयाँ, नेपाल बैंकको १६ करोड २६ लाख रुपैयाँ र नेपाल पुनर्बीमा कम्पनीको १४ करोड ३९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने
आज १६ वटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन छिमेक लघुवित्त, लक्ष्मी लघुवित्त, हिमालयन डिस्टिलरी, विजय लघुवित्त, सान्जेन जलविद्यूत्, जनउत्थान सामुदायिक लघुवित्त, एनएमबी लघुवित्त, मिथिला लघुवित्त र नेरुडे लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढेका छन्।

यसैगरी साना किसान लघुवित्त, विशाल बजार कम्पनी, एनआरएन लघुवित्त, उन्नति सहकार्य लघुवित्त, नेपाल टेलिकम, साधना लघुवित्त र नेको इन्सुरेन्सको सेयरमूल्य पनि १० प्रतिशतका हाराहारीमा वृद्धि भएको छ।

यो दिन युनिलिभर नेपालको सेयरधनीहरुले सर्वाधिक धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ५ प्रतिशत बढीले घटेको छ।