– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेड नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा उत्पादन तथा प्रशोधित समूहमा कारोबार भइरहेको कम्पनी हो। यो नेपालमा प्राइभेट कम्पनीअन्तर्गत सन् १९८५ देखि सञ्चालनमा रहेको थियो। सन् २००१ बाट भने यो पब्लिक कम्पनीअन्तर्गत सञ्चालित रहेको छ। 

यस कम्पनीमा ६२ प्रतिशत सेयर स्वामित्व संस्थापक समूहको र ३८ प्रतिशत सर्वसाधरण समूहको रहेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ५१ करोड ८४ लाख रुपैयाँ र रिजर्भमा १ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ रहेको छ। चौथो त्रैमाससम्म कम्पनीको खुद मुनाफा १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीको ईपीएस ६९.५ रुपैयाँ, प्राइस अर्निङ रेसियो ४९.०७ गुणा, रिटर्न अन इक्विटी ४४.३८ प्रतिशत र बुक भ्यालु १८७.२२ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ७ हजार १७४ रुपैयाँ र न्यून मूल्य २ हजार ८९८ रुपैयाँ रहेको छ। दोस्रो बजारमा अन्तिम कारोबार मूल्यअनुसार कम्पनी प्रतिकित्ता ३ हजार ४१० रुपैयाँ रहेको छ। 

कम्पनीको ९ वर्षको औसत वार्षिक लाभांशदर ५२ प्रतिशत रहेको छ। 

फियर एन्ड ग्रिड मिटरका आधारमा 

साप्ताहिक फियर एन्ड ग्रिड मिटरमा यो कम्पनीको सेयर बुलिस सेन्टिमेन्ट रहेको छ। यस्तो मिटर २० भन्दा तल भएमा लगानीकर्ता अधिक डराएको ८० भन्दा माथि भएमा अधिक हौसिएको र ६० को आसपासमा भएमा कम्पनीको सेयर बुलिस सेन्टिमेन्ट रहेको बुझिन्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा

यो कम्पनीको मूल्यरेखा बोलिंगरको मध्य ब्यान्डभन्दा माथि–माथि कारोबार भएको छ तर माथिल्लो ब्यान्डलाई छुन सकेको छैन। अन्तिम कारोबारमा रातो मारुबुजु क्यान्डल बनेको छ। यसले कम्पनीको सेयरमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

त्यसैगरी म्याक्डीमा पनि गत सेक्टेम्बर २९ मा बुलिस क्रसओभर रहेको हालसम्म पनि भ्यालिड नै रहेको छ तर हिस्टोग्राम पोजेटिभ रहे पनि फिक्का हुँदै गएको छ। आरएसआई हाल ५५ को जोनमा रहेको छ। यसअघि पनि तीन यही विन्दुमा प्रतिरोध सामना गरेका कारण यस कम्पनीको सेयरमूल्यमा आल्पकालमा सामन्य करेक्सन हुन सक्ने देखिन्छ। 

इचिमोकुका आधारमा 

यो कम्पनीको सेयरमूल्यलाई इचिमोकुअन्तर्गत हेर्दा मूल्यरेखाहरु क्लाउड पोजिसभन्दा तल नै रहेका छन्। तर, कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेर बुसिल क्रसओभर हुँदै गरेको देखिन्छ। २६ दिनपछि चल्ने ल्यागिङ स्पान पोजिसन मूल्यरेखासँगै चलेको छ। यसले कम्पनीको सेयरमूल्य साइडवेजमा चलेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ३५१७
  • प्रतिरोध २– ३७१५
  • प्रतिरोध ३– ३८८१

पिभट प्वइन्टः ३३५१

घटेमा सपोर्ट 

  • सपोर्ट १– ३१५३
  • सपोर्ट २– २९८७
  • सपोर्ट ३– २७८९

निष्कर्ष 

आधारभूत रुपमा बलियो रहेको यो कम्पनीले विगत ३ वर्ष लगातार १०० प्रतिशत लाभांश घोषण गरेको छ। योसँगै कम्पनीको चुक्तापुँजी बढ्न पुगेको छ। कम्पनीको चुक्तापुँजी बढेसँगै ईपीएस र रिटर्न अन इक्विटीमा केही घटेको देखिन्छ। तर, पनि कम्पनीको रिजर्भ र ईपीएस सन्तोषजनक नै रहेको पाइन्छ। 

प्राविधिक रुपमा यो कम्पनीको सेयर फियर एन्ड ग्रिड मिटरमा साप्ताहिक बुलिस नै रहेको छ। बजार लामो समय गिरावट आउँदा पनि मूल्य न्यूनतम २ हजार ९०० रुपैयाँभन्दा तल नआउनुमा यो कम्पनीको सेयरमा आकर्षण नै रहेको देखिन्छ। म्याक्डी, बोलिंगर ब्यान्ड तथा आरएसआईका आधारमा आगामी दिनमा यो कम्पनीको सेयरमा सामान्य करेक्सन हुन सक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।