-धनकुमार राई
प्राविधिक क्याण्डलस्टिक चित्रमा देखाएअनुसारको दैनिक र साप्ताहिक चार्टमा देखिएको बुलिस गार्टलेले बजारलाई ११०० भन्दा निम्नस्तरतिर नधेकिलिने संकेत गरेको निश्कर्ष गत सातालाई सही ठहर्याउँदै फेरि पनि आफ्नो स्वभाविक चाल निरन्तर राख्नसक्ने देखिन्छ भने गत साता तयार भएको पोटेन्सियल रिभरर्सल जोन बिन्दु D बाट प्याटर्नको नियमानुसार नै चलिरहेको देख्न सकिन्छ । 
 
यसरी कुनै बाह्य र आधारभूत तथ्य जस्ता कारणले नकारात्मक प्रभावित नभएमा प्राविधिक गणितलाई उपयोग गर्दै चित्रमा देखाएअनुसारको लक्ष्य प्राप्ति हुने सम्भावना अधिक रहेको र जस अनुसार चित्रमा देखाएको ६१.८ प्रतिशतको पहिलो लक्ष्यमा पुग्दै फेरि दोश्रो लक्ष्य १२७ देखि १६१ प्रतिशतसम्म निरन्तर गर्ने सम्भावना रहिरहेको देख्न सकिन्छ । लगानीकर्ताले आफ्नो जोखिम न्यूनिकरणका विधिहरु प्रयोग गर्दै कारोबार निरन्तर गर्न उपयुक्त देखिन्छ । 
 
साप्ताहिक पिभोट र स्वाप सिमाना
प्राविधिक संकेतहरुले सकारात्मक संकेत देखिएसँगै प्याटर्नले देखाएको लक्ष्य पूरा गर्ने क्रममा आउने साताको साप्ताहिक प्राविधिक पिभोट र डिमार्कसको गणितअनुसार आउने साता बजार संकुचित सिमाबाट बाहिर आउने प्रयास स्वरुप धेरै तल आएमा ११३४ देखि कम्तीमा पनि ११६७ बिन्दुभित्र सक्रिय कारोबार रहने अनुमान गर्न सकिन्छ ।
 
प्राविधिक क्याण्डल र इण्डिकेटरहरुको संकेत:
यसरी प्राविधिक गणितअनुसार प्राप्त लक्ष्यलाई छिचोल्न अन्य तल चित्रमा देखिएको अन्य प्राविधिक इण्डिकेटरहरुले पनि समग्रमा बजार खरिददारी गर्ने सिमामा रहेको देखाउँछ । साप्ताहिक एमएसिडि भन्दा बाहेकका संकेतहरु सकारात्मक रहेको देखिन्छ । 
 
घट्दो बजारमा लगानीकर्ताले सिक्नु पर्ने पाठ
वारेन बफेट भन्दछन्, "Buy Quality Business at Reasonable Prices"   सन्दर्भ जोडौं, नेपालको घट्दो बजारमा उत्तम उपाय के हुनसक्छ ? भनिन्छ वारेन बफेटले बजारमा के हुनसक्छ र के हुनसक्दैन भन्ने बहसमा विश्वास नराखी कारोबारलाई निरन्तरता दिने गर्दछन् । 
 
सबैलाई ज्ञान भएकै कुरा हो बजारमा उतार–चढावको स्वभाविक चालले नै कारोबार चक्र चलाइरहेको हुन्छ । यसको अर्थ फरक–फरक स्वभाव र क्षमताका धनी लगानीकर्ताहरुले स्वभाविक चालसँग रमाउँदै बजार चलाइरहेका हुन्छन् र समयको गतिसंगै बजारको प्रदर्शन पनि चलायमान भइरहेकै हुन्छ । यसै क्रममा कुनै समय जब बजार निरन्तर घट्ने चालमा आइपुग्छ र त्यस समयमा भने आम लगानीकर्ताहरुले आफ्नो लगानीको क्षय भएको हिसाबकिताव गर्दै बजारको डर र प्रचारबाजीसंग हरेस खाएर सन्तुलन बिगार्न पुग्दछन् र बजारकै विषयमा अनर्गल प्रतिक्रियाले लगानीको क्षय गरि नै रहेको हुन्छ र त्यसविपरीत संयमित र ब्यवसायिक लगानीकर्ताहरुले यस्तो अवस्थामा पनि लाभ उठाइनै रहेका हुन्छन् । 
बजारमा यस्तो अवस्था आउछ र जान्छ पनि । वारेन बफेटले सेयर बजारमै लगानी गरेर आफ्नो ब्यक्तित्व अग्लो बनाएको अनुभवको आधारमा उनको अनुभव र अभ्यासबाट सिक्ने हो भने उनको कमाइको रहस्य ‘तथ्यसंगत आधारले मात्र लगानीयोग्य स्टकको चयन गर्नुसक्नु’ ले नै हो भन्ने निश्कर्ष निक्लन्छ । उनी बजारलाई अल्पकालीन लगानी भन्दा दिर्घकालीन लगानीका लागि जोड दिन्छन् भने लगानीका लागि ‘ब्यवस्थित तरिकाले पूँजी वर्गीकरण गर्न जान्नुपर्दछ’ भन्ने मान्यता राखेर लगानी गरेको पढ्न पाइन्छ । 
 
लेखोटमा पाइन्छ कि उनले अरुले बेचिरहँदा किन्ने गर्दथे त अरुले किन्ने गर्दा आफूले बेच्ने गर्दथे । उनको यस्तो कार्यलाई केही लगानीकर्ताहरुले विरोधाभासपूर्ण हर्कतको संज्ञा पनि दिएको भेटिन्छ । तर उनले १९९८ देखि २००८ को बीचमा बजारले रेकर्डस्तरमा उच्चता प्राप्त गरेर रेकर्डस्तरमा बजार क्र्यास पनि भएको अवस्थामा पनि लगानी गरेर अकुत सम्पत्ति जोड्दै संसारकै धनीहरुको परिचय फेरेका इतिहास ताजै छ । 
 
हामीले उनले गर्न सकेजस्तै त गर्न नसकौंला तर पनि उनका ती हर्कतहरुबाट भने केही शिक्षा लिन आवश्यक ठानी उनको भनाई र भोगाइबाट निम्नानुसारको सार सिक्न सकिन्छ, जुन लगानीकर्ताको हितमा हुनसक्छ:
१.लगानीकर्ताले आफूले बुझ्ेर अन्दाज गर्न सक्ने प्रकृतिको ब्यापार गर्ने कम्पनीहरु मात्र छान्न सक्नुपर्दछ ।
२.आय अनुमान गर्न सकिने र प्रमाणित आय भएका कम्पनीहरु मात्र छान्ने गर्नु पर्दछ ।
३.आर्थिक लाभको समय सान्दर्भिक सम्भावना भएको कम्पनी मात्र छान्ने गर्नु पर्दछ ।
४.उचित मूल्यमा किन्न पाइने सेयर मात्र किन्न सक्नु पर्दछ । 
 
आम लगानीकर्ताहरुको मनोवैज्ञानिक पूर्वाग्रही ब्यवहार जसले जोखिम बढाउन सक्छ ।
 
अव वारेन बफेटभन्दा पर लगानीकर्ताहरुमा ब्याप्त मनोवैज्ञानिक पूर्वाग्रही ब्यवहारबाट ट्रेडिङ र लगानी प्रभावित भई जोखिम बढ्नसक्ने आम लगानीकर्ताहरुमा ब्याप्त बिमारयुक्त ब्यवहारलाई एकपटक नियालौं:
  • जब-जब लगानीकर्ताले गलत निर्णयको शिकार बन्दै घाटा बेहोर्न पुग्छन्, तब-तब तुरुन्तै त्यो घाटालाई पूर्ण गर्न गरिने ब्यग्रता र हतारले फेरि अर्को गलत निर्णय गर्न बाध्य बनाउँछ भने एउटा नाफाको कारोबारबाट उत्साहित भएर अर्को ठूलो घाटा गर्न पुग्ने गरेको पाइन्छ । 
  • अप्रासंगिक सूचना र प्रचारबाजीले प्रासंगिक सूचना र संकेतलाई कमजोर बनाइदिन्छ र गलत निर्णयतर्फ डोहोर्याएको पाइन्छ ।
  • जुवाडे प्रवृत्तिको सोचले बिना सूचना पछिल्लो कारोबारहरु घाटामा गएर के भो आउने कारोबार त नाफामै हुन्छ भनेर अर्को गलत कारोबार निरन्तर गर्दा जोखिम बढेको पाइन्छ ।
  • सही समयमा गलत कारोबार या सही कारोबार गलत समयमा हँुदा कारोबारमा जति नाफा लिन सकिने हो लिन नसकिएको देखिन्छ । 
  • कुनै तथ्यांक र प्रमाण बिना नै कारोबारमा होमिनु पनि जोखिमपूर्ण हुन्छ । जस्तै पहिले किनेको थियो, त्यसैले अहिले पनि किन्ने या नामको कारणले, ज्योतिषको कारणले कारोबार गर्नाले लगानी डुब्ने गरेको देखिन्छ ।
  • कारोबार गरिसकेपछि मात्र अनुकूलको सूचना र संकेत समाचार खोजेर चित्त बुझाउने ब्यवहार जस्तै, बजार घटिरहेको अवस्थामा बढ्नपर्छ भन्ने अनुकुल समाचार देख्न खोज्नु । आफ्नो अनुकुलकै लाभ मात्रै गर्छु भन्ने आशा गरेर लगानी गर्दा अधिकांश लगानीकर्ता प्रभावित भएको पाइन्छ ।
  • आफूलाई आफ्नो दक्षता र क्षमताभन्दा धेरै आँकलन गरेर कारोबारमा होमिनाले पनि लगानीमा क्षय भएको छ । 
 
यसरी जोखिम न्यूनिकरण हुनसक्छः
  • कारोबार गर्दा जहिले पनि जोखिमको सिमालाई प्राथमिकतामा राखेर मात्र लगानी गर्ने प्रणालीको विकास गर्ने । 
  • नाफा र जोखिमको सीमा तय गरी योजना बनाएर मात्र लगानी गर्ने । 
  • कारोबारपूर्व नै योजना तय गर्ने र हरसम्भव उच्च सतर्कतासहित कारोबार गर्ने ।
  • कारोबार गर्दा जहिले घाटा रोकिहाल्ने । तर सामान्यतः लगानीकर्ताहरु घाटालाई बढ्न दिरहन्छन्, भोलि बढिहाल्छ, बढ्नैपर्ने हो भन्नेजस्ता तर्क गरेर बस्छन् । घाटा सीमित गर्ने र लाभलाई निरन्तर गर्ने सीप विकास गर्ने। 
  • ट्रेण्डिङ मार्केटमा कम जोखिम लिएर ठूलो नाफाको लक्ष्य राख्न सकिन्छ त्यस्तै रेंज ट्रेडिङ मार्केटमा जोखिम ठूलो र नाफा कम हुने भएकोले प्राविधिक र आधारभूत तथ्यको आधारमा लाभ र जोखिमको सीमा तय गर्ने ।
  • कारोबार गर्दा मूल्यको सीमालाई प्रभावित गर्न सकिन्न, तर कारोबारलाई ब्यवस्थित गर्न सकिन्छ । कति अनुशासित लगानीकर्ता बन्ने भन्ने कुरा तपाईको आफ्नै हातमा हुन्छ ।
  • अनुचित परिस्थिति, ब्रोकर, या अन्य बाहिरी घटनालाई दोष नदिएर आफ्नो निर्णयको आफूलाई जिम्मेवार सम्झिने र गल्ती नदोहोर्याउने । 
  • अरुको विश्वासमा कारोबार नगर्ने । 

(लेखक सेयर बजारका प्राविधिक विश्लेष हुन् ।)