काठमाण्डौ । यो साता कारोबारको दोस्रो दिन सोमबार सुनको भाउ थोरैले घटेको छ ।

नेपाली सुन बजारमा हिजोको तुलनामा सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो । सुनको भाउ तोलामा २०० रुपैयाँले घटेर सोमबार प्रतितोला छापावाल सुन ७४ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ७४ हजार ५०० रुपैयाँ कायम भएको छ ।

सुनको भाउ आइतबार प्रतितोला छापावाल ७५ हजार रुपैयाँ र तेजाबी ७४ हजार ७०० रुपैयाँ थियो । गत साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा हिजो आइतबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो । 
गत साता बुधबार सुनको भाउ नेपालकै इतिहासमा सर्वाधिक उचाइमा पुगेको थियो । त्यस दिन प्रतितोला छापावाल सुन ७६ हजार ५०० रुपैयाँ र तेजाबी सुन ७६ हजार २०० रुपैयाँ पुगेको थियो ।

त्यस दिनयता सुनको भाउ घट्दो क्रममा छ । अहिलेसम्म तोलामा १ हजार ७०० रुपैयाँले घटिसकेको छ ।

उता चाँदीको भाउ पनि विस्तारै घट्दो क्रममा रहेको छ । गत बुधबार तोलाको ९२० रुपैयाँ पुगेको चाँदी घट्दै आज सोमबार ८९० रुपैयाँ कायम भएको छ ।