काठमाण्डौ । गत साता विश्वभर कोरोना संक्रमणको नयाँ मामिला र मृत्युमा कमी आएको छ। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार गत साता विश्वभर ४१ लाख नयाँ संक्रमित थपिएका छन् भने ८४ हजार मानिसको मृत्यु भएको छ। जुन अघिल्लो साताको तुलनामा संक्रमितको संख्या १४ प्रतिशत र मृतकको संख्या २ प्रतिशतले कम हो।

डब्ल्यूएचओको साप्ताहिक प्रतिवेदनअनुसार गत साता युरोपेली मुलुकहरुमा नयाँ संक्रमित संख्या र मृत्युको संख्यामा सबैभन्दा धेरै गिरावट आएको छ। त्यसपछि दक्षिण–पूर्व एसियामा पनि स्थिति सुधारोन्मुख रहेको प्रतिवेदनमा उल्लेख छ।

अमेरिका, भूमध्यसागरी, अफ्रिकी र पश्चिम प्रशान्त क्षेत्रमा भने गत साता नयाँ संक्रमित र मृत्यु हुनेको संख्या अघिल्लो साताकै हाराहारीमा देखिएको छ। 

पछिल्लो ४ सातामा कोरोना संक्रमणको स्थिति सुधारोन्मुख देखिए पनि अझै पनि संक्रमित र मृत्यु हुनेको संख्या धेरै रहेको डब्ल्यूएचओले जनाएको छ । केही देशहरुमा अझै पनि संक्रमित र मृत्युको संख्या निकै बढिरहेको प्रतिवेदनमा जनाइएको छ। – एजेन्सी