काठमाण्डौ । अन्तरबैंक ब्याजदर घटेर ६ प्रतिशत तल आएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ ८ गते अन्तरबैंक ब्याजदर घटेर ५.८० प्रतिशतमा झरेको हो। गत माघ ३ गते अन्तरबैंक ब्याजदर ७.२२ प्रतिशत थियो। 

अन्तरबैंक ब्याजदर घट्नु सुखद रहेको र यसले तरलता सहज हुँदै गएको संकेत पनि गर्ने एक जानकारीले बताए। 

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकिङ प्रणालीबाट ५ दिन (माघ ४ गतेदेखि माघ ८गतेसम्म)को अवधिमा १२ अर्ब निक्षेप बाहिरिएको छ। 

माघ ८ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५३ खर्र्ब ४२ अर्ब रुपैयाँ रहेको छ। गत माघ ३ गतेसम्म कुल निक्षेप ५३ खर्ब ५४ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले यो ५ दिनको अवधिमा निक्षेप १२ अर्ब रुपैयाँले घटेको हो।

यो अवधिमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १० अर्ब रुपैयाँले घटेको छ। गत माघ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४७ खर्ब १५ अर्ब रुपैयाँ रहेकोमा माघ ८ गतेसम्म घटेर ४७ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ। 

यसैगरी यो अवधिमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ६ अर्ब रुपैयाँले घटेको छ। गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४८ खर्ब १७ अर्ब रुपैयाँ रहेकोमा माघ ८ गतेसम्म घटेर ४८ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी २ अर्ब रुपैयाँले घटेर माघ ८ गतेसम्म ४२ खर्ब ६५ अर्ब रुपैयाँमा झरेको छ। गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो। 

माघ ८ गते बैंक तथा वित्तीय संस्थाहरुको औसत सीडी रेसियो थोरै बढेर ८६.७१ प्रतिशत कायम भएको छ। गत माघ ३ गते औसत सीडी रेसियो ८६.६४ प्रतिशत थियो।