– अर्जुन तिमिल्सिना

काठमाण्डौ । राष्ट्र बैंकले कर्जा लगानीमा कडाइ गरेपछि पछिल्लो समय घर–जग्गामा मन्दी देखिनुका साथै सहकारीसँगै सेयर बजार प्रभावित पनि बनेको छ। 

आँखा चिम्लेर घर–जग्गामा लगानी गरेका सहकारीहरु पछिल्ला समय धमाधम डुब्न थालेपछि त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पनि देखिन थालेको हो। 

त्यसो त राष्ट्र बैंकका विभिन्न नीतिले प्रभावित बनिरहेको सेयर बजार गत वर्ष भदौ २ गते चुमेको ३१९८ उच्च विन्दुबाट झरेर २००० आसपास चलिरहेको छ। अहिले सहकारीहरुमा समस्या देखिन थालेपछि बजारमा झनै दबाब सिर्जना हुन थालेको जानकारहरु बताउँछन्। 

सेयर बजार समुद्रजस्तै हो। यहाँ सबै क्षेत्रको पैसा आएको हुन्छ। विद्यार्थी, गृहिणी, व्यापारी, कर्मचारीलगायत सबै क्षेत्र र तप्काका मानिसको पैसा सेयर बजारमा आएको छ। 

केही ब्रोकर घर–जग्गामा आएको मन्दीले सहकारी प्रत्यक्ष रुपमा प्रभावित भएको र त्यसको असर सेयर बजारमा पनि देखिन थालेको बताउँछन्। ‘पछिल्लो समय बैंकहरुले कर्जा प्रवाहमा कडाइ गरेका छन्। त्यसपछि सेयर लगानीकर्ताहरुले सहकारीबाट कर्जा उठाएर बजारमा लगानी गरेका छन्’, एक ब्रोकरले भने, ‘अहिले सहकारी आफैँ समस्यामा परेपछि मन्दी देखिएको घर–जग्गालाई चलाउनुभन्दा सेयर बजारबाट कसरी हुन्छ पैसा निकाल्ने पक्षमा देखिएका छन्। यही कारणले केही समययता सेयर बजारमा बिक्रीचाप बढेको हुन सक्छ।’

ती ब्रोकरले भनेजस्तै केही समययता सहकारीहरु डुबेका खबर बाहिर आउन थालेका छन्। ‘सहकारी विभागले अनुत्पादकमूलक क्षेत्रमा लगानी गर्न निरुत्साहित गरेकै कारण सहकारीहरु आफैँ सेयर बजार र घर–जग्गामा लगानी आकर्षित भएको देखिँदैन’, एक बजार जानकारले भने, ‘यद्यपि सहकारीहरुले विश्वासिला व्यक्तिमार्फत सेयर बजारमा लगानी गरेका हुन सक्छन्। अहिले समस्यामा परेपछि धमाधम सेयर बजारबाट पैसा निकालिरहेका हुन सक्छन्।’ 

पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला घर–जग्गामा मन्दी देखिएकै कारण पनि सहकारीसँगै सेयर बजार समस्या परेको हुन सक्ने बताउँछन्। ‘नेपालका सहकारी स्रोत नखुलेको पैसा राख्ने ठाउँजस्तै भएका छन्’, उनी भन्छन्, ‘प्रायः धेरैजसो सहकारीले घर–जग्गामा लगानी गरेका छन्। अहिलेको अवस्थामा भनेको समयमा घर–जग्गा नबिक्ने भएपछि उनीहरुले सेयर बजारबाट पैसा निकाल्न थालेको जस्तो देखिन्छ। यही कारणले बजारमा दबाब सिर्जना भएको हुन सक्छ।’ 

अर्का बजार जानकार सरोज भट्टराई भने सहकारीका कारण सेयर बजार घटेको भन्ने विषयमा सहमत छैनन्। ‘तर, बैंकले कर्जा नदिँदा लगानीकर्ताले सहकारीबाट कर्जा लिएर बजारमा लगानी गरेको हुन सक्छन्’, उनी भन्छन्, ‘बैंकबाट कर्जा लिन कागजी प्रक्रिया धेरै पूरा गर्नुपर्छ, त्यसैले सहज प्रक्रियाबाट कर्जा लिन लगानीकर्ताहरु सहकारीतर्फ आकर्षित भएका हुन सक्छन्।’ 

ब्रोकर हाउसमा भेटिएका एक लगानीकर्ता सहकारीहरु समस्या परेका समाचार आएसँगै निक्षेपकर्ताले आफूले राखेको पैसा धमाधम माग्न थालेको बताउँछन्। ‘त्यही भएर होला सहकारीहरुले सबैभन्दा छिटो पैसा जोहो गर्ने ठाउँ सेयर बजारबाट सेयर बेचेर वा बेच्न लगाएर पैसा झिकेका हुन सक्छन्’, ती लगानीकर्ताले भने।  

सोही ब्रोकर हाउसका एक अधिकारीले पनि यो कुरा पुष्टि गर्छन्। ‘२–४ दिनदेखि सहकारीबाट धितो राखिएको सेयर फुकुवाका लागि पत्र आइरहेका छन्’, ती अधिकारी भन्छन्।