काठमाण्डौ । गत पुस महिनामा घरजग्गाको कारोबार ह्वात्तै बढेको छ।

गत पुसमा करिब ८० हजार घरजग्गा किनबेच भएको छ। जुन हालसम्मकै उच्च हो। पुसमा घरजग्गा कारोबारबाट करिब ७ अर्ब रुपैयाँ राजस्व संकलन भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ। राजस्व संकलन पनि हालसम्मै सबैभन्दा बढी हो। 

गत कात्तिकमा ६० हजार र मंसिरमा ६५ हजार घरजग्गा किनबेच भएको विभागको तथ्यांक देखाउँछ। मालपोत कार्यालयहरु अनलाइन प्रणाली गएपछि कारोबार बढ्दै गएको विभागको भनाइ छ। 

अनलाइन प्रणाली सुरु हुनुअघि मासिक बढीमा ५० देखि ५५ हजारवटा मात्र कारोबार हुने गरेको थियो। 

विभागले अनलाइन प्रणाली लागू भएका कार्यालयमा ढड्डामा लेख्नु नपर्ने निर्णय गरेपछि अहिले घरजग्गा किनबेच गर्न लाग्ने समय निकै घटेकोले कारोबार संख्या र राजस्व दुवै बढेको विभागको भनाइ छ। 

यसअघि महिनामा मुस्किलले एक करोड रुपैयाँ आउने घरजग्गा बिक्रीबापतको पुँजीगत लाभकर अहिले झन्डै दुई अर्ब रुपैयाँसम्म संकलन हुन थालेको विभागले जनाएको छ। 

पुसमा उपत्यकाका ८ वटा मालपोत कार्यालयबाट मात्रै करिब १० हजार घरजग्गा किनबेच भएका छन्। 

यसैगरी यो महिना १ लाख ६५ हजारभन्दा धेरै नयाँ कित्ता कायम भएका छन्। विगतमा मासिक १ लाखसम्म कित्ताकाट हुँदै आएकोमा पुसमा भने यो संख्या झन्डै ६५ प्रतिशतले बढेको हो।