काठमाण्डौ । राष्ट्र बैंकको निर्देशनमा वाणिज्य बैंकहरुले स्थिर ब्याजदरमा विभिन्न शीर्षकमा कर्जा प्रवाह गरिरहेका छन्। 

बैंकहरुले आज माघ १ गतेबाट लागू हुने निक्षेप र कर्जाको ब्याजदर सार्वजनिक गरिसकेका छन्। जसमा विभिन्न कर्जामा स्थिर ब्याजदर पनि सार्वजनिक गरेका छन्।

वाणिज्य बैंकमध्ये प्रभु बैंकले घर, गाडी र अन्य व्यक्तिगत कर्जामा स्थिर ब्याजदर सार्वजनिक गरेको छ। जसमा बैंकले ५ वर्षसम्म र ५ वर्षदेखि माथि १० वर्षसम्मका लागि घर कर्जा क्रमशः ९.९९ प्रतिशत र १०.९९ प्रतिशतको ब्याजदरमा कर्जा उपलब्ध गराउने भएको छ। यो बैंकले गाडी कर्जा भने ५ वर्षसम्मका लागि १०.२४ र ५ वर्षमाथि १० वर्षसम्मका लागि ११.२४ प्रतिशत स्थिर ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको छ। 

यस्तै प्रभु बैंकले अन्य व्यक्तिगत कर्जा भने ५ वर्षसम्मका लागि १०.९९ प्रतिशत र त्यसभन्दा माथि १० वर्षसम्मका लागि ११.९९ प्रतिशतको स्थिर ब्याजदर निर्धारण गरेको छ। 

यसैगरी हिमालयन बैंकले स्थिर ब्याजदरअन्तर्गत घर कर्जा, शैक्षिक कर्जा, सुविधा कर्जा र व्यक्तिगत कर्जा ७ वर्षसम्मका लागि ९.९९ प्रतिशतमै उपलब्ध गराउने भएको छ। हायर पर्चेज लोन भने ७ वर्षसम्मका लागि ९.४९ प्रतिशतमै उपलब्ध गराइने बैंकले जनाएको छ। 

वाणिज्य बैंकले घर कर्जा (अपार्टमेन्ट समेत) ५ वर्ष, १० वर्ष र १५ वर्षका लागि क्रमशm ९, १० र ११ प्रतिशत स्थिर ब्याजदर मा उपलब्ध गराउने भएको छ। हायरपर्चेज कर्जा भने ५ वर्षसम्मका लागि ९.५० प्रतिशत स्थिर ब्याजदरमै प्रवाह गर्ने भएको यो बैंकले व्यक्तिगत कर्जा भने ५ वर्ष १० वर्षसम्म गरी क्रमशः १० प्रतिशत ११ प्रतिशत स्थिर ब्याजदरमा प्रवाह गर्ने भएको छ। 

नेपाल बंगलादेश बैंकले गाडी कर्जा ५ वर्षसम्म र सोभन्दा बढी अवधिका लागि क्रमशः ९.९९ प्रतिशत र १०.९९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ। घर कर्जा भने बैंकले ५ वर्षसम्म, १० वर्षसम्म र २० वर्षसम्म गरी क्रमशः ९.९९, १०.९९ र ११.४९ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ। 

सनराइज बैंकले पनि घर कर्जा ५ वर्ष, १० वर्ष र १५ वर्षसम्म क्रमशm १०.५, ११ र ११.५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ। गाडी कर्जा भने बैंकले ५ वर्षसम्म र ८ वर्षसम्मका लागि क्रमशः ११ र ११.५ प्रतिशत स्थिर ब्याजदरमा उपलब्ध गराउने भएको छ।

स्थिर ब्याजदरअन्तर्गत कृषि विकास बैंकले घर कर्जा ५ वर्ष, १० वर्ष र १० वर्षमाथि अवधिका लागि क्रमशः ८.५, ९ र ९.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। गाडी कर्जा भने बैंकले ९ प्रतिशत स्थिर ब्याजदर कायम गरेको छ। 

एनएमबी बैंकले पनि घर कर्जा ५ वर्षदेखि १५ वर्षसम्मका लागि न्यूनतम ९.४९ प्रतिशतदेखि १२.२४ प्रतिशतसम्म स्थिर ब्याजदर निर्धारण गरेको छ। बैंकले व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि लिइने गाडी कर्जा पनि ३ वर्षसम्म र सोभन्दा माथि अवधिका लागि ९.४९ प्रतिशतदेखि ११.२४ प्रतिशतसम्म स्थिर ब्याजदर कायम गरेको छ।