काठमाण्डौ । नेपाल राष्ट्रबैंकको कुलिङ पिरियड सम्बन्धी व्यवस्थाको छिद्र केलाउँदै नवील बैंकले प्रमुख कार्यकारी अधिकृतमा अनिलकेशरी शाहलाई नियुक्त गर्ने पुरानो निर्णय खारेज गरेको तीन दिनमै उनलाई डेपुटी सीइओ बनाउने निर्णय भएको छ । 

नवील बैंक लिमीटेडको बिहीबार बसेको संचालक समितिको बैठकले  बैंकर शाहलाई डेपुटी सीइओ बनाएर बैंक भित्र्याउने निर्णय गरेको हो । 

गत पुस १३ गते बसेको बैंक संचालक समितिको बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको थियो । सेञ्चुरी बैंकसँगको सम्झौता भंग गरी नवीलतर्फ लागेका शाहलाई  नियुक्त गर्ने  निर्णय गरेको दिन नै नेपाल राष्ट्रबैंकले बैंकका सीइओ र संचालकहरुले एउटा बैंक छाडेको  ६ महिनासम्म अर्काे  बैंकमा जान नपाउने(कुलिङ पिरियडसम्बन्धी) व्यवस्था कार्यान्वयनका लागि सबै बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको थियो । 

केन्द्रीय बैंकको यही कुलिङ पिरियड सम्बन्धी नयाँ व्यवस्थाले अनिलकेशरी शाहलाई  सीइओको  रुपमा नवील जानबाट रोकेको थियो । 

तर, केन्द्रीय बैंकको नयाँ व्यवस्थाको लुपहोल्सको खोजी गर्ने क्रममा नवीलका संचालकहरुले निकै चल्ख्याईपूर्वक केही दिनअघि बैंकको नाम, ठेगाना र पहिचान खुल्ने केही पनि जानकारी नराखी डेपुटी सीइओका लागि विज्ञापन गरेका थिए । त्यो विज्ञापन अनिल शाहलाई डेपुटी सीइओको रुपमा बैंक भित्र्याउने  प्रक्रिया पूरा गर्ने योजना अनुसार भएको थियो । 

बैंकका एक संचालकका अनुसार अनिलकेशरी शाहलाई हाल डेपुटी सीइओको रुपमा नियुक्त गर्ने निर्णय भएको छ । डेपुटी सीइओको रुपमा बैंकमा भित्र्याएर शाहलाई कायममुकायम सीइओ दिई हाल बैंक चलाउने र शाहले मेगा बैंक छाडेको ६ महिना समय व्यथित भएपछि फूल सीइओको रुपमा नियुक्त गर्ने नवीलको योजना छ ।