काठमाण्डौ । लाभांश र हकप्रद पारित मुख्य अजेन्डासहित ङादी ग्रुप पावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ।

कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशतले हुने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) अनुमोदन गर्नेछ । 

सोही सभाले तेस्रो वार्षिक साधारणसभाबाट चुक्तापुँजीको ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय भएको तर सोही हकप्रद निष्कासन भइनसकेकोले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट प्रस्तावित बोनस सेयर कम्पनीको सातौँ वार्षिक साधारणसभाबाटछ पारित भई वितरण गरेपछि कायम हुन आउने चुक्तपुँजी ५८ करोड ९१ लाख १० हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुन आउने हकप्रद सेयर निष्कासनको प्रस्ताव पनि अनुमोदन गर्नेछ। बोनस तथा हकप्रद जारीपछि पुँजी वृद्धि गर्न प्रबन्धपत्र तथा निमावलीमा संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले यही पुस १५ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।