काठमाण्डौ। नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको छ। 

राष्ट्र बैंकले एकीकृत निर्देशन, २०७६ मा संशोधन गर्दै अब चाँदी आयात प्रयोजनका लागि एकपटकमा ३५ हजार डलरसम्म मात्र विदेशी मुद्रा सटही सुविधा दिने नयाँ व्यवस्था गरेको हो। यसअघि चाँदी आयातमा यस्तो सीमा तोकिएको थिएन। 

यसैगरी राष्ट्र बैंकले डकुमेन्ट अगेन्स्ट पेमेन्ट (डीएपी) तथा डकुमेन्ट अगेन्स्ट एसेप्टेन्स (डीएए) को सीमालाई पनि परिमार्जन गरेर ५० हजार डलरमा सीमित पारेको छ। यो व्यवस्थासँगै अब एकपटकमा अधिकतम ५० हजार डलरसम्मको मालसामान मात्र आयात गर्न पाइनेछ। यसअघि यसको सीमा १ लाख डलर रहेको थियो।

त्यस्तै अब बैंकहरुले प्राथमिक पुँजीको १५ प्रतिशतभन्दा बढी नहुने गरी डेरिभेटिभ्ज कारोबार गर्नुपर्ने संशोधित निर्देशनमा व्यवस्था गरिएको छ। यसअघि ३० प्रतिशतको सीमा तोकिएको थियो।

व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बद्ध कम्पनीले विदेशबाट ऋण लिन खोजेमा वाणिज्य बैंकहरु बैंक ग्यारेन्टी बस्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।