काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चार विकास बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा अनिवार्य नगद मौज्दात अनुपात र कर्जा–निक्षेप अनुपातको नियम मिचेकोमा ती बैंक तथा वित्तीय संस्थामाथि कारबाही गरेको हो। 

कारबाहीमा पर्ने विकास बैंकहरुमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक र मल्टीपर्पस फायनान्सलाई कारबाही गरेको छ। 

राष्ट्र बैंकले कर्जा–निक्षेप अनुपातको नियम तोकेकोमा कर्पोरेट डेभलपमेन्ट बैंक, सालपा विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमाथि कारबाही गरेको छ। जसअनुसार कर्पोरेट डेभलपमेन्ट बैंकलाई १ लाख ९६ हजार २६५.३० रुपैयाँ, सालपा विकास बैंकलाई १ लाख १० हजार ६६२.२६ रुपैयाँ, नारायणी डेभलपमेन्ट बैंकलाई २ लाख ५१ हजार ३२४.७३ रुपैयाँ र सप्तकोशी डेभलपमेन्ट बैंकलाई १९ लाख ३६ हजार ६३५.५७ रुपैयाँ जरिवाना गरिएको थियो। 

चालु आर्थिक वर्षमा यो शीर्षकअन्तर्गत कर्पोरेट डेभलपमेन्ट बैंकलाई पाँचौँपटक, सालपा विकास बैंकलाई प्रथमपटक, नारायणी डेभलपमेन्ट बैंकलाई पाँचौँपटक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई पनि पाँचौँपटक राष्ट्र बैंकले कारबाही गरेको हो। 

यसैगरी अनिवार्य नगद मौज्दात अनुपातको नियम तोडेकोमा नारायणी डेभलपमेन्ट बैंकमाथि तेस्रो त्रैमासमा राष्ट्र बैंकले ३ पटक कारबाही गरेको छ। जसअनुसार यो बैंकलाई प्रथमपटक ३ हजार ९४८.५३ रुपैयाँ, दोस्रोपटक ६३ हजार ७८२.७८ रुपैयाँ र तेस्रोपटक १ लाख ८ हजार ७७०.२१ रुपैयाँ जरिवाना तिर्न लगाइएको छ। 

उता मल्टीपर्पस फाइनान्सले पनि अनिवार्य नगद मौज्दात अनुपातको नियम तोड्दा प्रथमपटक २ हजार ७०१.०३ रुपैयाँ जरिवाना तिर्नुपरेको छ।