– अर्जुन तिमिल्सिना
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा बजार ३ दिन बढ्यो भने २ दिन घटेको छ।
अघिल्लो साता १८३८.५९ मा बन्द भएको बजार यो साता १८७७.३२ मा बन्द भएको छ। यस हिसाबले यो साता दोस्रो बजारमा ३८.७३ अंकले बढोत्तरी भएको छ। अघिल्लो साता दोस्रो बजारमा ३१.१४ अंकको गिरावट आएको थियो।
यो साता दोस्रो बजारमा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको कारोबार भएको छ। यस्तो कारोबार अघिल्लो साता ३ अर्ब २४ करोड रुपैयाँबराबरको मात्रै भएको थियो। यस हिसाबले यो साता कारोबार र सूचक दुवैमा बढोत्तरी भएको छ।
प्राविधिक पक्ष
साप्ताहिक रुपमा बजारलाई क्यान्डल स्टिकमार्फत हेर्दा अघिल्लो साता र यो साताको क्यान्डलमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको देखिन्छ (हेर्नुहोस् माथि मुख्य तस्बिरमा)। यसले बढ्दो बजारलाई संकेत गर्छ।
यदि अघिल्लो क्यान्डल छोटो र रातो बन्छ तथा पछिल्लो क्याण्डल लामो र हरियो बन्छ अर्थात अघिल्लो क्यान्डललाई पछिल्लो क्यान्डलले पूरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ। त्यसविपरित यदि अघिल्लो क्यान्डल छोटो हरियो बन्छ र पछिल्लो क्यान्डल लामो रातो बन्छ अर्थात रातो क्यान्डलले हरियो क्यान्डललाई पूरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ भनेर बुझिन्छ।
नेप्सेमा अघिल्लो साता र यो साताको साप्ताहिक क्यान्डललाई मिलाएर हेर्दा बुलिस इन्गल्फिङ बनेको देखिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ तर प्राविधिक रुपमा बुलिस इन्गल्फिङ बन्दैमा बजार बढी हाल्छ भन्ने निश्चित भने हुँदैन। यसका लागि कारोबार र भोलुमले पनि बजारलाई साथ दिनुपर्ने हुन्छ। अर्थात् आगामी कारोबारमा भोलुम तथा कारोबारमा पनि दैनिक बढोत्तरी आउनुपर्ने हुन्छ।
बोलिंगर, म्याक्डी तथा आरएसआईका आधारमा
साप्ताहिक रुपमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मार्च महिनामा बजारले मध्य ब्यान्ड छोडेर तल झरेको छ। तर, तल्लो ब्यान्ड छुन आउन सकेको छैन। अर्थात् बजार साइडवेज चलेको देखिन्छ।
म्याक्डीमार्फत हेर्दा बजारले मार्च महिनामा नै बियरिस क्रसओभर बनेको देखिन्छ भने हालसम्म पनि त्यो भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा नै रहेका छन्।
साप्ताहिक रुपमै बजारलाई आरएसआईमार्फत हेर्दा ६२ को तहबाट खसेको यस्तो विन्दु हाल ३८ को तहमा आएको छ। विगतमा यस्तो विन्दु ओभर सोल्ड जोन अर्थात् ३० भन्दा तल आएको देखिन्छ।
साप्ताहिक रुपमा समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा ¬यो साताको बढोत्तरी अल्पकालीन देखिन्छ। अर्थात् ४ साता घटेपछिको सामान्य रिएक्सनमात्रै पनि हुन सक्छ।
पिभट प्वइन्टका आधारमा
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।
बढेमा प्रतिरोध
प्रतिरोध ३– २१०६
प्रतिरोध २– २०४३
प्रतिरोध १– १९५७
पिभट प्वइन्टः १८९५
घटेमा सपोर्ट
सपोर्ट १– १८०८
सपोर्ट २– १७४६
सपोर्ट ३– १६६०
निष्कर्ष
अघिल्लो ४ साता लगातार घटेको बजारमा यो साता ३८ अंकले बढोत्तरी भएको छ। अघिल्लो साता ३१.१४ अंकले गिरावट आएको थियो। यस हिसाबले यो साता लामो समयपछि बजारमा कारोबार र सूचक दुवैमा बढोत्तरी भएको छ।
प्राविधिक रुपमा यो साता नेप्सेको चार्टमा बुलिस इन्गल्फिङ क्यान्डल बनेको छ। यसले बढ्दो बजारलाई संकेत गर्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी साता पनि भोलुम र कारोबारसहित बजारमा बढोत्तरी हुनुपर्नेछ। अब बजार बढ्दा पिभट प्वइन्ट १८९५ मा पहिलो प्रतिरोध सामना गर्न सक्छ। त्यहाँबाट पनि माथि गएको खण्डमा बजारले १९६० मा प्रतिरोध सामना गर्न सक्छ। घटेमा भने बजारले पुनः १८०८ मा सपोर्ट लिन आउन सक्छ।
नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो कारोबारका लागि सिफारिस भने होइन।
27 minutes ago
48 minutes ago
59 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
12 hours ago
12 hours ago
12 hours ago